इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि गुणस्तरहीन पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको र सयौँ जना बिरामी परेको इरानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका जनसम्पर्क प्रमुख होसेन केरमानपोरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शनिबार पोस्ट गरेको जानकारीमा यस अवधिमा देशभरका स्वास्थ्य केन्द्रमा विषाक्तताका लक्षणसहित ८६५ जना (७४६ पुरुष र ११९ महिला) उपचारका लागि आएको बताएका छन् ।
उनले दक्षिणी होर्मोजगान प्रदेशमा सबैभन्दा बढी १० जनाको मृत्यु भएको जनाएका छन् ।
त्यसपछि उत्तरपूर्वी खोरासान रजावी प्रदेशको नेइशाबुर काउन्टीमा छ जना र दक्षिणी फार्स प्रदेशको शिराजमा पाँच जनाको मृत्यु भएको छ ।
केरमानपोरका अनुसार हाल १६० जना अस्पतालमा भर्ना छन् । जसमध्ये २४ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ ।
आठ जनामा मदिराका कारण मस्तिष्कघातको सङ्केत भेटिएको थियो । इरानमा मादक पेय पदार्थ उत्पादन, बिक्री र सेवन अवैध मानिन्छ । रासस







