Khabar Out
डब्ल्यूएचओ प्रमुखद्वारा क्युबामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई आग्रह

अमेरिकालाई क्युबामाथि लगाएको प्रतिबन्ध हटाउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेयससले आग्रह गरेका छन् ।

गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको क्युबामा अमेरिकाले जनवरीदेखि नयाँ प्रतिबन्ध र तेल नाकाबन्दी सुरु गरेको छ । यसले अर्थतन्त्रमा थप दबाब सिर्जना गर्नुका साथै व्यापक विद्युत् कटौती र अत्यावश्यक वस्तुको अभाव निम्त्याएको छ ।

‘म भर्खरै क्युबाबाट फर्किएको छु । त्यहाँ मैले देखेको दृश्यले मलाई दुःखी बनाएको छ,’ टेड्रोसले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

उनले अस्पतालका कोरिडोरमा बालबालिकाले आशा बोकेको र स्वास्थ्यकर्मीले आफूसँग भएको सबै दिएर सेवा गरिरहेको उल्लेख गरेका छन् । ‘राजनीतिक विवादका लागि बालबालिकाले कहिल्यै मूल्य चुकाउनु हुँदैन,’ उनले भनेका छन् ।

‘उनीहरूका लागि म अमेरिकालाई प्रतिबन्ध हटाउन आग्रह गर्छु,’ टेड्रोसले थपेका छन् ।

क्युबामा औसत आयु सन् २०२० को ७८.८ वर्षबाट सन् २०२५ मा घटेर ७४.४ वर्षमा झरेको छ । सन् १९५० देखि अभिलेख राख्न थालिएयता औसत आयुमा आएको यो पहिलो गिरावट हो ।

सन् २०२५ का यी तथ्याङ्क जनवरीमा लगाइएको अमेरिकी इन्धन नाकाबन्दीअघिका हुन् । उक्त नाकाबन्दीले ६० वर्ष पुरानो अमेरिकी व्यापार प्रतिबन्धलाई थप कडा बनाएको छ । यसले क्युबामा दशकौँयताकै खराब आर्थिक सङ्कटलाई तीव्र बनाएको छ । देशका सरकारी सेवा नै धराशायी हुने अवस्थामा पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाको साम्यवादी सत्तारूढ दललाई अपदस्थ गर्न सैन्य हस्तक्षेप गर्न सक्ने सङ्केत दिएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत महिना क्युबालीहरूलाई अमेरिकी गुप्तचर सेवासँग सहकार्य गर्न आग्रह गरेका थिए । क्युबा सन् १९६२ देखि अमेरिकी व्यापार प्रतिबन्धको सामना गर्दै आएको छ ।

डब्ल्यूएचओ प्रमुख टेड्रोसले मङ्गलबार राजधानी हवाना भ्रमणका क्रममा क्युबाको स्वास्थ्य प्रणाली गम्भीर अवस्थामा रहेको बताएका थिए । उनका अनुसार सन् २०२० मा प्रतिहजार जीवित जन्ममा करिब चार रहेको शिशु मृत्युदर सन् २०२५ मा बढेर ९.९ पुगेको छ ।

टेड्रोसले बालबालिकाको खोप कार्यक्रम र अत्यावश्यक चिकित्सा उपकरण खरिदका लागि २० लाख अमेरिकी डलर सहयोगको घोषणा पनि गरेका छन् । उनले क्युबाको स्वास्थ्य अवस्थाका लागि अमेरिकी प्रतिबन्धलाई जिम्मेवार ठहर्‍याए पनि आन्तरिक समस्याहरूलाई समेत उल्लेख गरेका छन् । क्युबाले ती समस्या समाधान गर्न थालेको भन्दै उनले त्यसलाई सकारात्मक मानेका छन् ।

क्युबाली सरकारले घोषणा गरेको बजारमुखी आर्थिक सुधारलाई समर्थन गर्दै टेड्रोसले भनेका छन्, ‘सरकारले प्रस्ताव गरेको सुधार अर्थतन्त्र, बजार, स्वास्थ्यलगायत लगभग हरेक क्षेत्रसँग सम्बन्धित छ र हामी यसलाई समर्थन गर्छौं ।’ रासस

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update