बङ्गलादेश । शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि दुईदिने देशव्यापी बन्द आह्वान गरेको छ । बन्दका क्रममा विशेषगरी दक्षिणी क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने र आगजनीका घटना भएका छन् ।
सरकारले दक्षिणी जिल्लामा थप प्रहरी परिचालन गर्नुका साथै सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) का १२० प्लाटुन देशभर खटाएको छ । बीजीबीका अनुसार फरिदपुरको नौदोबा–भाङ्गा–भाटियापारा राजमार्गमा रुख ढालेर सडक अवरुद्ध गरिएको थियो । अवरोध हटाई सवारी आवागमन सञ्चालन गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हसिनाको गृहजिल्ला गोपालगञ्ज अवामी लिगको प्रभाव क्षेत्र हो । देशका अन्य भागमा पार्टीका कार्यक्रमको प्रभाव कम देखिए पनि त्यहाँ समर्थकहरूले विभिन्न गतिविधि गर्दै प्रदर्शन गरिरहेका छन् ।
हसिनाले सन् २०२६ डिसेम्बर १६ मा बङ्गलादेश फर्किने घोषणा गरे । तर, मृत्युदण्डको सजाय पाइसकेकी उनलाई यात्रा कागजात वा राहदानी उपलब्ध नगराइने सरकारले जनाएको छ । ढाकाले सुपुर्दगी सन्धिअन्तर्गत उनलाई फिर्ता पठाउन भारतसँग औपचारिक अनुरोध गरेको छ । भारतले भने सुपुर्दगी र यात्रा कागजातसहित स्वदेश फर्किने विषय फरक रहेको जनाएको छ ।
हसिनाको घोषणाले बङ्गलादेशमा राजनीतिक तनाव र सुरक्षा चिन्ता बढाएको छ । सन् २०२४ मा विद्यार्थी आन्दोलनबाट सरकार ढलेपछि उहाँ भारत जानुभएको थियो । सन् २०२६ फेब्रुअरी १२ मा भएको निर्वाचनबाट बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्तामा आएको थियो । रासस







