Khabar Out
गंगोत्री धामबाट ल्याइएको पवित्र गङ्गाजल पशुपतिनाथमा अर्पण

काठमाडौं । भारतको उत्तराखण्डस्थित पवित्र गंगोत्री धामबाट ल्याइएको गङ्गाजल सोमबार आराध्यदेव श्री पशुपतिनाथको शिवलिङ्गमा अर्पण गरिएको छ । प्रत्येक वर्ष तिहारपछि आयोजना हुँदै आएको यस धार्मिक परम्पराअन्तर्गत यस वर्ष पनि विशेष पूजाअर्चना तथा धार्मिक विधिसहित गङ्गाजल अर्पण गरिएको हो ।

बडाकाजी अमरसिंह थापाको पालादेखि सुरु भएको मानिने यस परम्परामा गंगोत्री धामबाट गङ्गाजल ल्याएर पशुपतिनाथमा अर्पण गर्ने चलन रहँदै आएको छ । बीचमा केही समय रोकिएको यो परम्परा गंगोत्री धामका रावल (मुख्य पुजारी) श्री शिव प्रकाश महाराजको पहलमा पुनः सुरु भएको थियो । यस वर्ष यो धार्मिक परम्परा २६औँ वर्षमा प्रवेश गरेको हो ।

मंसिर ७ गते सोमबार काठमाडौंको गौशाला चोकबाट सुरु भएको धार्मिक कार्यक्रममा गंगोत्री धामबाट ल्याइएको पवित्र गङ्गाजल पशुपतिनाथ मन्दिरमा पुर्‍याई विधिपूर्वक भगवान् शिवको शिवलिङ्गमा अर्पण गरिएको थियो ।

हिन्दू धर्मावलम्बीहरूका लागि गङ्गाजल अत्यन्त पवित्र मानिन्छ । गंगोत्री धामबाट ल्याइएको जल पशुपतिनाथमा अर्पण गर्ने यस धार्मिक अनुष्ठानले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई समेत थप प्रगाढ बनाउँदै आएको छ ।

यस पावन अवसरमा सहभागी भक्तजनहरूले भगवान् पशुपतिनाथसँग विश्वशान्ति, मानव कल्याण, सुख, शान्ति र समृद्धिको कामना गरेका थिए । धार्मिक आस्था र परम्पराको निरन्तरतासँग जोडिएको यस कार्यक्रमले भक्तजनहरूमा आध्यात्मिक ऊर्जा र धार्मिक उत्साह थपेको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update