काठमाडौं । कृषि विकास बैंक लिमिटेड लगातार दोस्रो वर्ष दक्षिण एसियाली लेखा व्यवसायीहरूको छाता संगठन ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स’ (साफा ) द्वारा प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ ।
साफाले दक्षिण एसियाका सार्वजनिक क्षेत्रका बैंकहरूको समूहअन्तर्गत ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड्स, इन्टिग्रेटेड रिपोर्टिङ अवार्ड्स एन्ड कर्पोरेट गभर्नेन्स डिस्क्लोजर’ विधामा कृषि विकास बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनको मूल्यांकनका आधारमा बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता, प्रतिवेदनको गुणस्तर तथा संस्थागत सुशासनलाई कदर गर्दै अवार्ड प्रदान गरिएको हो ।
बंगलादेशको ढाकामा आयोजित विशेष समारोहमा बैंकलाई उक्त अवार्ड प्रदान गरिएको हो । बैंकले गत वर्ष पनि साफाको अवार्ड प्राप्त गर्न सफल भएको थियो । लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय स्तरको सम्मान प्राप्त गर्नुलाई बैंकको वित्तीय प्रतिवेदन प्रणाली, पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धताको उपलब्धिका रूपमा लिइएको छ ।
साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स ९साफा० इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्सको नेटवर्क पार्टनर हो । यसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानलगायत दक्षिण एसियाली क्षेत्रका ११ वटा चार्टर्ड एकाउन्टेन्ट संस्थाहरू आबद्ध छन् ।
साफाले प्रत्येक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित हुने विभिन्न संस्थाका वार्षिक तथा वित्तीय प्रतिवेदनहरूको मूल्यांकन गरी वित्तीय पारदर्शिता, जवाफदेहिता, संस्थागत सुशासन र प्रतिवेदनको उत्कृष्टताका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ ।
लगातार दोस्रो वर्ष साफाको अवार्ड प्राप्त गर्न सफल हुनुले कृषि विकास बैंकको वित्तीय व्यवस्थापन, संस्थागत पारदर्शिता तथा सुशासनको क्षेत्रमा हासिल गरेको प्रगतिलाई थप अन्तर्राष्ट्रिय मान्यता मिलेको छ ।







