काठमाडौं । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनमा केन्द्रीय सदस्य पदमा अनुप प्रधानले उम्मेदवारी दिने भएका छन् । काठमाडौं क्षेत्र नं. ४ का प्रधान विगत ३४ वर्षदेखि नेपाली कांग्रेसको विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्य-मान्यताप्रति प्रतिबद्ध रहँदै पार्टी राजनीतिमा सक्रिय छन् ।
विद्यार्थी जीवनदेखि नै कांग्रेस राजनीतिमा आबद्ध प्रधानले आफ्नो राजनीतिक यात्रा नेपाल तरुण दलको वडा इकाइ सदस्यबाट सुरु गरेका थिए । संगठनप्रतिको लगनशीलता र निरन्तर सक्रियताका कारण उनले पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
प्रधानले नेपाल तरुण दलको इकाइ सचिव, काठमाडौं महानगर सचिव, केन्द्रीय विदेश विभाग सदस्य, काठमाडौं क्षेत्र नं। ४ का अध्यक्ष तथा केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । त्यसैगरी, नेपाल संस्कृति महासंघको केन्द्रीय सदस्यका रूपमा समेत काम गरिसकेका छन् ।
नेपाली कांग्रेसको १२ औँ महाधिवेशनका क्रममा काठमाडौं क्षेत्र नं. ४ को क्षेत्रीय कार्यसमितिअन्तर्गत युवा विभाग संयोजकको जिम्मेवारीमा रहेका प्रधानले युवालाई पार्टी संगठनसँग जोड्ने, राजनीतिक चेतना अभिवृद्धि गर्ने तथा युवा नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेका छन ।
उनकै नेतृत्व तथा संयोजनमा युवाहरूका लागि सीपमूलक तालिम, उत्प्रेरणामूलक कार्यक्रमलगायतका गतिविधि सञ्चालन भएका थिए । युवालाई आत्मनिर्भर, सक्षम र सामाजिक रूपमा जिम्मेवार बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको उनको राजनीतिक यात्रामा उल्लेख छ ।
राजनीतिलाई पद र प्रतिष्ठाभन्दा पनि समाजसेवा तथा जनताको आवश्यकता सम्बोधन गर्ने माध्यमका रूपमा लिँदै आएका प्रधान सामाजिक तथा सामुदायिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन् । यसका अतिरिक्त, नेपाल-पोल्यान्ड फ्रेन्डसिप काउन्सिलको उपसभापतिको जिम्मेवारीमा रहेर नेपाल र पोल्यान्डबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्य अभिवृद्धिका क्षेत्रमा पनि उनले काम गरेका छन् ।
३२ वर्षको राजनीतिक अनुभव, संगठनात्मक दक्षता र युवा परिचालनको अनुभवलाई आधार बनाउँदै प्रधानले आगामी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताएका छन् ।
पार्टीभित्र पुस्तान्तरण, युवाको अर्थपूर्ण सहभागिता, संगठनको सुदृढीकरण, समावेशी नेतृत्व र जनतासँग जोडिएको उत्तरदायी राजनीतिक संस्कारको विकासलाई उनले आफ्नो प्राथमिकतामा राखेका छन् । लामो राजनीतिक अनुभव र संगठनात्मक योगदानका आधारमा पार्टीलाई थप गतिशील, सशक्त र जनमुखी बनाउने लक्ष्यसहित प्रधान केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।उनले सबैको साथ र सहयोगको अपिल गरेका छन ।







