लोकतन्त्रको वास्तविक सौन्दर्य नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र राज्यको जवाफदेहितामा निहित हुन्छ । यी सबै पक्षलाई जीवन्त राख्ने महत्वपूर्ण माध्यम स्वतन्त्र सञ्चारमाध्यम हो । सञ्चार क्षेत्र लोकतन्त्रको पहरेदार मात्र होइन, राज्यका तीनवटै अंगलाई जनताप्रति उत्तरदायी बनाउने सशक्त आधार पनि हो । तर विडम्बना, लोकतन्त्रको यही महत्वपूर्ण खम्बा पटक–पटक राज्यसत्ताकै निशानामा पर्दै आएको छ ।
व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् कि छैनन् भन्ने निगरानी गर्दै जनताको आवाज राज्यसम्म पुर्याउने दायित्व सञ्चारमाध्यमको हो । राज्यका कमजोरी, अनियमितता, भ्रष्टाचार, विभेद र जनसरोकारका विषय उजागर गर्नु पत्रकारिताको धर्म हो । त्यसैले सञ्चारमाध्यम सत्ताको प्रशंसक होइन, जनताको पक्षमा उभिने निष्पक्ष पहरेदार हुनुपर्छ।
तर हाम्रो राजनीतिक तथा प्रशासनिक अभ्यासमा सञ्चार क्षेत्रलाई सहज रूपमा स्वीकार गर्ने संस्कार अझै विकास हुन सकेको छैन । आफूअनुकूल समाचार आउँदा सञ्चारमाध्यमको प्रशंसा गर्ने र आफ्ना कमजोरी सार्वजनिक हुँदा सञ्चारमाध्यममाथि नै आक्रामक बन्ने प्रवृत्ति हरेकजसो सत्तामा देखिँदै आएको छ । सत्ता परिवर्तन भए पनि प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोणमा अपेक्षित परिवर्तन आउन नसक्नु चिन्ताको विषय हो ।
पछिल्लो समय सञ्चारगृहभित्रै प्रवेश गर्ने, समाचार कक्षमा हस्तक्षेप गर्ने, पत्रकारलाई नियन्त्रणमा लिने तथा धरपकड गर्ने जस्ता घटनाले प्रेस स्वतन्त्रताको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेका छन् । पत्रकारले आफ्नो व्यावसायिक जिम्मेवारी निर्वाह गरिरहँदा राज्यका निकायबाटै असुरक्षा महसुस गर्नुपर्ने अवस्था सिर्जना हुनु लोकतान्त्रिक मूल्य र मान्यतामाथिको प्रहार हो । आलोचनालाई शत्रुता ठान्ने र प्रश्न गर्ने पत्रकारलाई प्रतिपक्षीका रूपमा हेर्ने सोच लोकतान्त्रिक संस्कार हुन सक्दैन ।
प्रेस स्वतन्त्रता कुनै सरकार वा शासकले दिएको उपहार होइन । यो संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार तथा लोकतान्त्रिक व्यवस्थाको आधारभूत सर्त हो । जुनसुकै दलको सरकार भए पनि सञ्चारमाध्यमको स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाको प्रत्याभूति गर्नु राज्यको अनिवार्य दायित्व हो । प्रेसमाथिको हस्तक्षेपलाई सामान्य घटनाका रूपमा लिनु हुँदैन । पत्रकारमाथि हुने धम्की, दुर्व्यवहार र सञ्चारगृहमा हुने अनधिकृत हस्तक्षेपका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ जो हुन सकिरहेको छैन ।
यद्यपि प्रेस स्वतन्त्रताको कुरा गरिरहँदा सञ्चार क्षेत्र स्वयं पनि आफ्ना कमजोरीबाट मुक्त छैन । स्वतन्त्रताको अर्थ स्वेच्छाचारिता होइन । तथ्यहीन समाचार, अपुष्ट सूचना, राजनीतिक आग्रह–पूर्वाग्रह र व्यक्तिगत स्वार्थबाट पत्रकारिता निर्देशित हुनु हुँदैन । सत्य, तथ्य, निष्पक्षता र विश्वसनीयता नै पत्रकारिताका आधारस्तम्भ हुन् । छिटो समाचार दिने प्रतिस्पर्धाभन्दा सही सूचना सम्प्रेषणलाई प्राथमिकता दिनु आजको आवश्यकता हो । पत्रकारिताको विश्वसनीयता कमजोर हुँदा त्यसको असर सञ्चारमाध्यममा मात्र होइन, समग्र लोकतान्त्रिक प्रणालीमा पर्छ ।
त्यसैगरी सञ्चार क्षेत्रभित्रका आर्थिक तथा व्यावसायिक समस्या पनि उत्तिकै गम्भीर छन् । सञ्चारगृहको कमजोर आर्थिक अवस्था, श्रमजीवी पत्रकारको न्यून पारिश्रमिक, पेसागत असुरक्षा र विज्ञापन वितरणमा हुने असमानताले स्वतन्त्र पत्रकारितालाई चुनौती दिइरहेका छन् ।
प्रेस स्वतन्त्रताको रक्षाका सम्पूर्ण सञ्चारकर्मी एक हुनुको विकलप छैन । पत्रकारमाथि अन्याय हुँदा सशक्त आवाज उठाउने साहस सञ्चार क्षेत्रले राख्नुपर्छ।
साथै विगत अढाई दशकदेखि नेपाल टुडे मासिक, अर्थ टुडे साप्ताहिक र स्टार टुडे मासिकमार्फत निरन्तर सञ्चार क्षेत्रमा क्रियाशील रहँदै आज डिजिटल पत्रकारिताको यात्रामा खबर आउट डटकमका साथ अघि बढिरहेका छौँ । यो यात्रा हाम्रा लागि केवल माध्यम परिवर्तन होइन, समयअनुसार पाठकलाई सूचना र समाचार उपलब्ध गराउने जिम्मेवारीको विस्तार पनि हो ।
दलीय पत्रकारिताको अन्त्य हुनुपर्छ भन्ने मान्यताका साथ लोकतन्त्र, सुशासन र जवाफदेहितालाई केन्द्रमा राखेर सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्नु खबर आउटको मूल अठोट हो । नागरिकका अधिकार र स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै राज्यका जिम्मेवार निकायमा आसीन व्यक्तिहरूलाई जनताप्रति जवाफदेही बनाउनु हाम्रो प्राथमिकता हुनेछ । खबर आउट डटकमले कुनै दल वा शक्तिको पक्षपोषण नगरी देश र जनताको हितमा कलम चलाउने तथा सत्ता सञ्चालकलाई निरन्तर खबरदारी गर्ने संकल्प लिएको छ ।
यही संकल्प र प्रतिबद्धताका साथ स्थापना भएको खबर आउट डटकमले दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको सुखद् अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक, सहयोगी तथा सञ्चार क्षेत्रसँग आबद्ध सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । हाम्रो यात्रामा साथ, सहयोग, सुझाव र विश्वास प्रदान गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।
आगामी दिनमा पनि खबर आउटलाई सत्यको पक्षमा निर्भीक आवाज उठाउने, जनताको सरोकारलाई प्राथमिकता दिने र लोकतन्त्र, सुशासन तथा जवाफदेहिताको पहरेदार सञ्चारमाध्यमका रूपमा स्थापित गर्ने हाम्रो प्रतिबद्धता रहनेछ ।
अन्ततः बन्दुकको शक्तिले केही समय आवाज दबाउन सकिएला, तर सत्यलाई सधैँ कैद गर्न सकिँदैन । कलमको वास्तविक शक्ति सत्य र विश्वसनीयतामा हुन्छ। प्रेस स्वतन्त्रता सुरक्षित भए मात्र नागरिकको आवाज सुरक्षित हुन्छ र नागरिकको आवाज सुरक्षित भए मात्र लोकतन्त्र बलियो हुन्छ । त्यसैले लोकतन्त्रको रक्षा गर्ने हो भने सबैभन्दा पहिले प्रेस स्वतन्त्रताको रक्षा गर्नैपर्छ।
राधाकृष्ण कटवाल
अध्यक्ष तथा प्रधानसम्पदक







