Khabar Out
पूर्वमन्त्री बास्कोटाको ‘एक निष्ठावान् यात्री’ प्रथम राष्ट्रपतिद्वारा लोकार्पण

काठमाडौं । पूर्वमन्त्री डा. दीपकप्रकाश बास्कोटाको जीवन, संघर्ष, योगदान र व्यक्तित्वमा आधारित पुस्तक ‘एक निष्ठावान् यात्री’ नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा लोकार्पण गरिएको छ ।

दीपकप्रकाश बास्कोटा फाउण्डेशनको आयोजनामा महेन्द्र पुलिस क्लबको सभाहलमा आज आयोजित विशेष समारोहमा प्रथम राष्ट्रपति यादवसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले पुस्तक सार्वजनिक गरेका हुन् ।

पत्रकार तथा कवि भरतराज पौडेल र विवश वस्तीले लेखेको उक्त पुस्तकमा डा. बास्कोटाको बाल्यकालदेखि वर्तमानसम्मको जीवनयात्रा, संघर्ष, अनुभव र समाजमा पुर्याएको योगदानलाई सरल तथा रोचक ढंगले प्रस्तुत गरिएको छ । पुस्तकमा उनको राजनीतिक, सामाजिक, शैक्षिक, सहकारी, उद्यमशीलता, पत्रकारिता तथा आध्यात्मिक यात्रालाई विभिन्न पक्षबाट समेटिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति डा. यादवले चिया उद्योग स्थापना गरेर बास्कोटाले किसानलाई दिएको सन्देश महत्त्वपूर्ण रहेको बताए । उनले राजनीति, सहकारी र आध्यात्मिक क्षेत्रमा बास्कोटाले पुर्याएको योगदानको स्मरण गर्दै पछिल्लो समय शरीर र मनलाई व्यवस्थित गर्ने आध्यात्मिक क्षेत्रमा सक्रिय भएर उनले थप योगदान गरिरहेको उल्लेख गरे ।

पुस्तकमाथि समीक्षा गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. तीर्थ खनियाँले पुस्तकले नेपाललाई विश्वको आध्यात्मिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । राजनीति र सहकारी क्षेत्रमा सक्रिय रहँदै आएका सरल व्यक्तित्व बास्कोटामा महर्षि महेश योगीले भविष्यको सम्भावना देखेरै नेपालमा अभियानको नेतृत्व गर्ने जिम्मेवारी दिएको हुन सक्ने उनको भनाइ थियो ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक प्रा.डा. मृगेन्द्रबहादुर कार्कीले बास्कोटाको जीवनी विश्वविद्यालयको जर्नलमा प्रकाशन गर्न योग्य रहेको बताए ।

विश्वव्यापी महर्षि वैदिक अभियानका अन्तर्राष्ट्रिय निर्देशक अमेरिकी नागरिक डा. किङ्स्ली ब्रुक्सले नेपालमा वैदिक पुनर्जागरणको अभियान सञ्चालन गर्न बास्कोटाले खेलेको भूमिकाको प्रशंसा गरे । भावातीत ध्यान, वैदिक यज्ञ र जैविक खेतीमार्फत नेपाललाई वैदिक राष्ट्र बनाउने अभियानमा बास्कोटाको नेतृत्वमा भइरहेको कामप्रति उनले खुसी व्यक्त गरे ।
 
पुस्तकमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, शिक्षाविद् डा. सुरेशराज शर्मालगायत दर्जनौँ विशिष्ट व्यक्तित्वहरूले डा. बास्कोटाको जीवन, व्यक्तित्व र योगदानबारे आफ्ना आलेख समावेश गरेका छन् । 

कार्यक्रममा पुस्तकका लेखक भरतराज पौडेलले सुरुमा छ महिनाभित्र तयार गर्ने लक्ष्य राखिए पनि विभिन्न विषयको अध्ययन, अनुसन्धान र सामग्री संकलनका क्रममा पुस्तक तयार गर्न साढे तीन वर्ष लागेको जानकारी दिए । पुस्तक लेखनका क्रममा नेपालका विभिन्न स्थानका साथै भारतसम्म पुगेर आवश्यक सामग्री तथा तथ्य संकलन गर्नुपरेको उनले बताए ।

पत्रकारिता, अर्गानिक कृषि, राजनीति, सहकारी अभियानदेखि अध्यात्मसम्मका क्षेत्रमा डा. बास्कोटाले पुर्‍याएको योगदान आफैँमा एउटा महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्दै पौडेलले पुस्तकमा उनका जीवनका विविध आयामलाई समेट्ने प्रयास गरिएको बताए ।

त्यसैगरी कार्यक्रममा पुस्तकका लेखकद्वय भरतराज पौडेल र विवश वस्तीलाई खादा ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्कृतिविद् डा. घनश्याम खतिवडाले गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री, पूर्वप्रहरी महानिरीक्षक, वरिष्ठ साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

५६८ पृष्ठ रहेको पुस्तकको मूल्य ७०० रुपैयाँ निर्धारण गरिएको छ । पुस्तकले बास्कोटाको जीवनी र व्यक्तित्वको मूल्याङ्कन गर्नुका साथै सहकारी अभियानमा संलग्न व्यक्ति तथा जैविक र अर्गानिक कृषिका क्षेत्रमा काम गर्न चाहनेहरूका लागि समेत उपयोगी हुन सक्ने छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update