Khabar Out
चीनका ग्रामीण बस्तीमा एआई प्रतिभा केन्द्र

काठमाडाैँ । चीनका स्थानीय अधिकारीहरूले कम जनसङ्ख्या भएका ग्रामीण बस्तीलाई कृत्रिम बौद्धिकता (एआई) प्रतिभा केन्द्रका रूपमा विकास गर्न थालेका छन् । सहरको व्यस्त जीवनबाट टाढा शान्त वातावरणमा काम गर्न चाहने प्रविधि क्षेत्रका कर्मचारीलाई आकर्षित गर्ने उद्देश्यले यस्तो पहल गरिएको हो ।

साङ्घाईको मध्य भागबाट करिब ६० किलोमिटर दक्षिणमा रहेको काओजिङ सहरले गत अप्रिलदेखि साना एआई उद्यमलाई अनुदान, निःशुल्क कार्यालय र आवास सुविधा उपलब्ध गराउन थालेको छ । योग्य उद्यमले अधिकतम १० हजार युआन अनुदान र एक महिनाको निःशुल्क आवास पाउनेछन् ।

यो पहल चीनको ‘एआई प्लस’ नीतिअन्तर्गत शिक्षा र दैनिक जीवनका विभिन्न क्षेत्रमा कृत्रिम बौद्धिकता विस्तार गर्ने प्रयासको एउटा हिस्सा हो ।

तीन महिनाअघि श्रीमतीसँग काओजिङको शुइकु गाउँमा बसाइँ सरेका ३८ वर्षीय अंग्रेजी शिक्षक विन्ड लिउले एआई उपकरण प्रयोग गरी सामाजिक सञ्जालका लागि शैक्षिक भिडियो बनाउँदै आएका छन्। “म अनलाइन हुनुपर्छ । मलाई ग्राहक चाहिन्छ । प्रविधिसँग सम्बन्ध राख्नैपर्छ,” उनले भने।

लिउका अनुसार गाउँको शान्त वातावरणले चीनका ठुला सहरमा प्रचलित ‘९९६’ कार्यशैलीबाट राहत दिएको छ । उक्त कार्यशैलीमा बिहान ९ बजेदेखि राति ९ बजेसम्म हप्तामा ६ दिन काम गर्नुपर्छ।

गाउँमा बस्न आउनेहरू बढी स्वतन्त्रता र एकाग्रता चाहने मानिस भएको समुदायकी परियोजना प्रमुख बाइचाओ लीले बताइन्। उनका अनुसार उनीहरू सूचना प्रविधिको अत्यधिक दबाबबाट केही टाढा रहन चाहन्छन्।

चीनमा प्रतिस्पर्धात्मक जीवनशैलीबाट टाढा रहने प्रवृत्तिलाई ‘लेटिङ फ्ल्याट’ भनिन्छ । तर स्थानीय अधिकारीहरूले यस्ता गाउँलाई निष्क्रियताको केन्द्र नभई नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न खोजेका छन्।

चीनको एआई विकासबारे अध्ययन गर्ने गोभएआईकी अनुसन्धानकर्ता जिलान छियानले गाउँमा आउने मानिसहरू काम गर्न नचाहने नभई परम्परागत कार्यशैलीको दबाबबाट टाढा रहन चाहने बताइन्। उनका अनुसार उनीहरूले आफ्नै उद्यम स्थापना गरी स्थानीय अर्थतन्त्रलाई समेत सहयोग गर्न सक्छन्।

लिउको विश्वासमा सन् २०३० सम्ममा एआईले ९० प्रतिशत रोजगारी समाप्त गर्न सक्छ । उनका अनुसार एआई उपकरणले अहिले पटकथा लेखन, आवाज रेकर्डिङ र भिडियो सम्पादनजस्ता काम गर्न थालेका छन् । तर नयाँ प्रविधि स्वीकार गर्ने चिनियाँहरूको क्षमताप्रति आफू विश्वस्त रहेको उनले बताए।

गाउँमा नयाँ मानिसहरूको आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको एक स्थानीय महिलाले बताइन्। तर वृद्ध स्थानीय बासिन्दा र नयाँ आगन्तुकबीचको प्रत्यक्ष सम्पर्क भने सीमित रहेको छ । समुदायले आयोजना गर्ने कार्यक्रममा गाउँका वृद्धवृद्धाको सहभागिता पनि न्यून रहेको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update