Khabar Out
डुटेर्टेको लागुऔषधविरोधी अभियानमा आठ सहअभियुक्त

काठमाडाैँ । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेविरुद्ध लागुऔषधविरोधी अभियानका क्रममा भएका हत्यासम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) मा सोमबार सुनुवाइ सुरु हुँदैछ । अभियोजन पक्षले हत्याको योजनामा उनलाई सहयोग गरेको आरोपमा आठ पूर्वअधिकारीको नाम सार्वजनिक गरेको छ।

आइसीसीका अनुसार सन् २०११ देखि २०१९ सम्म नागरिक जनसङ्ख्यामाथि व्यापक र योजनाबद्ध आक्रमण हुँदा हजारौँ मानिस मारिएका थिए । उक्त अवधिमा डुटेर्टे दाभाओका मेयर र पछि राष्ट्रपति थिए।

सहअभियुक्तका रूपमा उल्लेख गरिएका आठै जना सन् २०१६ देखि २०२२ सम्मको डुटेर्टे नेतृत्वको सरकारमा महत्त्वपूर्ण पदमा थिए । तीमध्ये एक जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

६४ वर्षीय रोनाल्ड ‘बाटो’ डेला रोजा हाल सिनेटर हुन्। उनी डुटेर्टेको लागुऔषधविरोधी अभियानका प्रमुख कार्यान्वयनकर्ता तथा राष्ट्रिय प्रहरी प्रमुख थिए। पक्राउ पुर्जी कार्यान्वयन गर्ने प्रयास असफल भएपछि उनी गत मेदेखि लुकेर बसेका छन्।

५२ वर्षीय सिनेटर क्रिस्टोफर लरेन्स ‘बोङ’ गो डुटेर्टेका १८ वर्षसम्म व्यक्तिगत सहयोगी थिए। पूर्वप्रहरी अधिकारी आर्तुरो लास्कानासले दाभाओ डेथ स्क्वाडका हत्याहरू डुटेर्टे वा गोसहितका सहयोगीको आदेशमा भएको आरोप लगाएका छन्। गोले आरोप अस्वीकार गरेका छन्। लास्कानासले आइसीसीमा बयान दिने अपेक्षा गरिएको छ।

८० वर्षीय पूर्वन्यायमन्त्री भिटालियानो अगुइरे द्वितीयलाई अभियोजन पक्षले डुटेर्टे र दाभाओ डेथ स्क्वाडका कानूनी सल्लाहकारका रूपमा उल्लेख गरेको छ । उनले अपराधमा संलग्नता अस्वीकार गरेका छन्।

६३ वर्षीय पूर्वराष्ट्रिय प्रहरी प्रमुख ओस्कार अल्बायाल्देले लागुऔषधविरोधी अभियानका क्रममा हत्याको योजना बनाउन सहयोग गरेको अभियोजन पक्षको आरोप छ । उनले डुटेर्टेले लागुऔषधका संदिग्धलाई मार्न आदेश नदिएको बताए।

पूर्वप्रहरी अधिकारी भिसेन्टे दानाओ, इसिद्रो लापेन्या र राष्ट्रिय अनुसन्धान ब्युरोका पूर्वनिर्देशक दान्ते गिएरान पनि सहअभियुक्तको सूचीमा छन् । दानाओमाथि लागुऔषधका संदिग्धलाई सार्वजनिक रूपमा धम्की दिएको आरोप छ । लापेन्या डुटेर्टे दाभाओका मेयर हुँदा प्रहरी प्रमुख थिए भने गिएरानले त्यहाँ अनुसन्धान निकायको क्षेत्रीय निर्देशकका रूपमा काम गरेका थिए।

सन् २०२३ मा निधन भएका पूर्वराष्ट्रिय प्रहरी प्रमुख कामिलो कास्कोलन पनि सूचीमा छन्। उनले डुटेर्टेको कार्यकालमा मनिला प्रहरी प्रमुखसहितका महत्त्वपूर्ण पदमा काम गरेका थिए । रासस

प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update