Khabar Out
मुख्य याममा सौराहामा पर्यटक घटे

चितवन । विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् ।

मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निरासा छाएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउँछन् । गत वर्ष यतिबेला होटलका ८० प्रतिशत कोठा भरिने गरेका उल्लेख गर्दै यस वर्ष ५० प्रतिशतभन्दा कम कोठा बुक भएका उनको भनाइ छ ।

अध्यक्ष पाण्डेले भने, “एकदमै राम्रो पर्यटकीय याममा पनि किन पर्यटक आएनन् हामी सोचमग्न छौँ ।” यो बेलामा चितवन राष्ट्रिय निकुञ्जमा ढड्डी फाँडेर टाढासम्म देखिने भएकाले सजिलै वन्यजन्तु हेर्न सकिन्छ ।

मौसमका हिसाबले पनि गर्मी र जाडो दुबै नहुने भएकाले सबैका लागि उपयुक्त यही समय हो । सबै हिसाबले राम्रो भए पनि विदेशी पर्यटक न्यून मात्र आउँदा व्यवसाय प्रभावित भएको उनको भनाइ छ । सौराहामा मात्र नभएर देशभरको अवस्था उस्तै रहेको अध्यक्ष पाण्डेले बताए । 

सङ्घका उपाध्यक्ष गुणराज थपलिया निर्वाचनका कारण विदेशी पर्यटक नआउँदा सौराहामा पर्यटकको सङ्ख्यामा कमी आएको बताउँछन् । निर्वाचनपछि पर्यटक बढ्ने उनले अपेक्षा गरे ।

सौराहामा १४८ होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । यस क्षेत्रमा प्रत्यक्ष रुपमा ६ हजार ४०० जनाले रोजगारी पाएको छ । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, घडीयाल गोहीलगायतका दुर्लभ वन्यजन्तु र चराचुरुङ्गी हेर्न यहाँ स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । यसका अतिरिक्त सौराहामा थारु संस्कृति पनि पर्यटकका लागि रुचिकर बन्दछ । यसका साथै नेपालका विभिन्न सङ्घ संस्था कार्यक्रम गर्न सौराहा आउँछन् भने भारतीय नागरिक बढी मात्रामा यहाँ आउने गर्छन् । रासस

 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update