Khabar Out
भसभसेको पहिरोले म्याग्दी र मुस्ताङ जोड्ने सडक अवरुद्ध

म्याग्दी । बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । 

यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभाननजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । 

पर्वत र बागलुङ जोड्ने मालढुंगाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पूर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौं जाने–आउने सवारीसाधनहरुले पनि बागलुङ–बेनी–मालढुंगाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् । 

बेनी–२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारीसाधनको जाम हुने, साँघुरो भएकाले दुर्घटनाको पनि जोखिम भएको बताए ।  

“नदी कटान र पहिरोका कारण एक सय मिटर दूरीमा सडक साविकको भन्दा दुईदेखि तीन मिटर भासिएको र दबेको छ,” उनले भने, “सवारीसाधनको चाप बढेको हुँदा घण्टौँ जाम हुने गरेको छ ।”

आर्थिक वर्ष २०८१/८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी व्यवस्थापन र हिलोमा ढलान गरेको थियो । हाल ढलान गरेको सडक सबै भासिएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले भसभसेमा यातायात व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समाधान हुन नसकेको बताए । 

“सडक डिभिजनले ग्राभेल राखे पनि दबेर भोलिपल्ट पहिलेको जस्तो अवस्था हुन्छ,” उनले भने, “सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोगले तार्ने गरिएको छ ।” भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ । 

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल लगाएर तटबन्धका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालयमार्फत पहल गरिएको कार्यवाहक जिसस प्रमुख खत्रीले बताए । रासस

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update