Khabar Out
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा । देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ ।

पर्यटन प्रवर्द्धन, पर्यटन विकास, असल अभ्यास आदान-प्रदान तथा आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच विगतमा भएको समझदारी कार्यान्वयनका लागि तीनवटै स्थानीय तहले अग्रसरता लिएका हुन् ।

सोही अन्तर्गत भरतपुर महानगरपालिकाले सोमबार भरतपुरमा सरोकार भएका पक्षहरूबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम गरी सुझाव सङ्कलन तथा आगामी कार्ययोजनाबारे छलफल गरेको हो । तीनै स्थानीय तहका प्रमुखसहित जनप्रतिनिधि, प्रशासक, निजी क्षेत्रका अगुवा, पर्यटन व्यवसायीलगायतले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका तीनै गन्तव्यको पर्यटन प्रवर्द्धन र विकासमा साझा प्रतिबद्धता जनाएका हुन् ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पोखरालाई साहसिकता, भरतपुरलाई प्रकृति र लुम्बिनीलाई संस्कृतिसँग जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । पर्यटकीय पूर्वाधार निर्माणसँगै सरसफाइ र वातावरणीय स्वच्छतालाई पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पर्यटनका माध्यमबाट तीनै सहरको अर्थतन्त्रलाई समृद्ध बनाउन ‘सिल्भर ट्रयाङ्गल’को अवधारणा ल्याएको बताए। उनले गत जेठमा तीन स्थानीय तहबीच भएको समझदारी अनुसार महानगरको नीति, योजना तथा कार्यक्रममा उक्त प्रवर्द्धनात्मक कार्यक्रमलाई समेटिएको बताए ।

“अब व्यवसायदेखि व्यवसाय (बिटुबी) र सरकारदेखि सरकार (जिटुजी) सहकार्यलाई ठोस र मूर्त रूपमा अगाडि बढाउनुपर्छ”, प्रमुख आचार्यले भने, “नेपाल भित्रने पर्यटकलाई पोखरा, चितवन र लुम्बिनी एकैसाथ घुम्ने गरी कनेक्टीभिटीदेखि पर्यटकीय सेवासुविधामा विस्तारमा जोड दिनुपर्छ ।”

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासका लागि नीजि क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताइन् । उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो रूपमा संचालनका लागि सबैले पहल गर्नुपर्ने बताइन्।

पोखरा भ्रमण वर्ष २०२५-२०२६ का संयोजक गोपी भट्टराईले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्यमा जोड दिए । पछिल्लो समय प्राकृतिक विपद्का कारण पर्यटनमा असर पुगिरहेको बताउँदै नेपाल खुला र सुरक्षित छ भन्ने सन्देश विश्वमाझ दिनुपर्ने उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटकको बसाई लम्बाउने गरी योजना बनाउनुपर्ने बताए । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी सुवेदीले तीन स्थानीय तहबीच व्यावसायिक संजाल विस्तार र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटकीय गन्तव्यको डिजिटल मार्केटिङ गर्नुपर्नेमा जोड दिए । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नेपालको पहिचानसँग जोडिएका तीनवटै गव्तव्यको प्रवर्द्धनका लागि सहकार्य र साझेदारी हुनुपर्ने बताए । उनले छिट्टै ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन मेला (ट्राभल मार्ट)को आयोजना गरिने बताइन् ।

गत जेठ २६ गते भएको तीन स्थानीय तहबीचको समझदारीपत्रमा प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला (ट्राभल मार्ट) आयोजना गर्ने, आवश्यकता अनुसार व्यवसायदेखि–व्यवसाय (बीटूबी) तथा सरकारदेखि–सरकार (जीटूजी) बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ ।

पर्यटन प्रवर्द्धनका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गर्ने सहमति भएको थियो । डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि सम्झौतामा समेटिएको छ । जस अन्तर्गत भरतपुर महानगरपालिकाले कार्यालय परिसरमा राखेको डिजिटल सूचना बोर्डकोसमेत सोमबार शुभारम्भ गरिएको थियो ।

उक्त समझदारीपत्रमा पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग समन्वय गर्ने विषय पनि समावेश छ । तीनै गन्तव्यलाई समेट्ने गरी एकीकृत पर्यटक प्याकेज विकास गरिने जनाइएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज २७, २०८३  ०९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update