Khabar Out
चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा । भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन् । आइतबार गएको बूढीगण्डकी बाढीले विभिन्न ठाउँका पुल तथा पदमार्ग बगाएपछि पर्यटक अलपत्र परेका हुन् ।

हिँडडुल गर्न तथा गन्तव्यतर्फ जान नपाएपछि पर्यटक त्रासमा रहेका स्थानीय होटल व्यवसायी उपसमितिका संयोजक गणेश कार्कीले बताए । कतिपयलाई आज बिहानैदेखि नेपाली सेनाको ठूलो हेलिकप्टरले उद्धार गरिरहेको उनले जानकारी दिए । 

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार चुम उपत्यकामा अहिले ८० भन्दा बढी पर्यटक छन् । कतै पनि जान नपाएपछि पर्यटकहरू आत्तिएका छेकम्पारका होटल व्यवसायी दोर्जे लामाले बताए । 

यो परिस्थितिमा पर्यटकलाई उद्धार गर्न हेलिकप्टरले उडान अनुमति लिइरहनु नपर्ने निर्णय सरकारले गरेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले जानकारी दिए । “पर्यटकहरूलाई इमर्जेन्सी भए उनीहरूकै कम्पनीले उद्धार गर्न सक्छ । नत्र सरकारले आफ्नै कार्यसूचीअनुसार उद्धार गर्छ”, उनले भने । अहिले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेकाहरूको उद्धार कार्यलाई प्राथमिकता दिइएको उनको भनाइ छ । रासस

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update