काठमाडौं । विश्वशान्ति, मानवकल्याण तथा प्राकृतिक विपत्तिबाट प्रभावितहरूको सुख, शान्ति र समृद्धिको कामनासहित नेपाल महर्षि वैदिक फाउन्डेसनले आगामी कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म काठमाडौंमा त्रिदिवसीय विश्वकल्याण महारूद्राभिषेक यज्ञ आयोजना गर्ने भएको छ ।
यज्ञमा सहभागिता र सहयोगका लागि आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाले विश्वमा शान्ति स्थापना गर्न योग, ध्यानसँगै यज्ञको पनि महत्वपूर्ण भूमिका रहने बताए ।
दोस्रो विश्वयुद्धका क्रममा पनि दश हजार ब्राह्मणद्वारा यज्ञ गरिएको प्रसङ्ग स्मरण गर्दै अध्यक्ष बास्कोटाले विश्वमा शान्ति फैलाउन योग र ध्यानको विकल्प नरहेको धारणा राखे । उनले नेपालमा पछिल्लो समय बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट भएको मानवीय र आर्थिक क्षतिले मुलुक मर्माहत भएको उल्लेख गर्दै विश्वकल्याणको कामनासहित महायज्ञ आयोजना गर्न लागिएको बताए।
गत भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढी तथा असोज २५ गते बुढीगण्डकी क्षेत्रमा आएको बाढीबाट भएको क्षतिले जनजीवन प्रभावित बनेको छ । यस्ता विपत्तिबाट प्रभावित नागरिकको सुख, शान्ति र समृद्धिको कामना गर्दै आयोजना गर्न लागिएको महायज्ञ सफल बनाउन सबैलाई साथ र सहयोग गर्न उनले अपिल गरे ।
कार्यक्रममा प्रा.डा. विद्यानाथ कोइराला, निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती तथा माननीय समीक्षा बास्कोटालगायतले योग, ध्यान र यज्ञको महत्वबारे आफ्नो धारणा राखेका थिए । उनीहरूले विश्वशान्ति र मानवकल्याणको उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार, साहित्यकार, शिक्षाविद्लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन भरत पौडेलले गरेका थिए।
भावातीत ध्यान र महत्व
भावातीत ध्यानले मानसिक क्षमता विकास, स्मरणशक्तिमा वृद्धि, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन तथा शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने सबै भन्दा उत्तम मार्ग हो । यसले स्नायु प्रणालीलाई विश्राम दिन तथा मानसिक र शारीरिक सन्तुलन कायम राख्न सहयोग गर्ने छ ।
भावातीत ध्यानको नियमित अभ्यासले व्यक्तिको व्यवहार, सहनशीलता र अरूलाई सहयोग गर्ने भावनाको विकासमा समेत योगदान पुर्याउन सक्ने छ ।
महर्षि वैदिक परम्परा र विश्वकल्याणको उद्देश्य
नेपाल महर्षि वैदिक फाउन्डेसनले नेपाललाई विश्वमा वैदिक ज्ञान, योग र ध्यानको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । महर्षि महेश योगीको वैदिक ज्ञान तथा भावातीत ध्यानको परम्परालाई अघि बढाउँदै विश्वशान्ति र मानवकल्याणका लागि महायज्ञ आयोजना गर्न लागिएको हो ।
आयोजकले २०८३ साल कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म सञ्चालन हुने त्रिदिवसीय महर्षि अभिषेक यज्ञमा सहभागी हुन तथा आफ्नो क्षमताअनुसार सहयोग गर्न इच्छुक महानुभावलाई आग्रह गरेको छ ।
आयोजकका अनुसार यस कार्यक्रमको मूल उद्देश्य विश्वशान्ति, मानवकल्याण, सुख, समृद्धि र प्राकृतिक विपत्तिबाट प्रभावितहरूको कल्याणको कामना गर्नु हो ।
भावातीत ध्यान कुनै धर्म, जाति वा विचारधारामा सीमित नभई सबै समुदायका व्यक्तिले अभ्यास गर्न सक्ने विधि रहेको जनाएको छ ।







