Khabar Out
चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

चितवन ।  बडादसैँमा जिल्लामा रु ३० करोडभन्दा बढीको खसीबोकाको व्यापार हुने व्यवसायीले जनाएका छन् । यो पर्वमा खसी, बोका, राँगा, बङ्गुर र कुखुराको बलि दिने गरिन्छ ।

दसैँको सुरुआतसँगै जिल्लामा खसीबोकाको मासुको व्यापार बढेको छ । मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलका अनुसार यो वर्षको दसैँमा मात्र व्यावसायिक रूपमा १५ हजार बढी खसी काटिने छ । अध्यक्ष कँडेलका अनुसार दसैँमा मात्रै रु ३० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

जिल्लामा रहेका एक हजार बढी मासु पसलमध्ये १५० वटा खसी मात्र काट्ने मासु पसल रहेका छन् । अन्यमा कुखुरा र खसीसँगै काट्ने गरिएको उनले जानकारी दिए । यो तथ्याङ्कमा दसैँका लागि घरमै उत्पादन गरी घरमै खपत भएका खसीबोकालाई जोडिएको छैन ।

गत वर्षको दसैँमा १० हजार बढी खसी–च्याङ्ग्रा बिक्री भएको थियो । यस पटक बिक्री बढ्ने देखिएको उनले बताए । १५ हजारसम्म खसी–च्याङ्ग्रा (बनाएर वा जिउँदो) बिक्री हुने अनुमान गरिएको उनले बताए । कँडेलका अनुसार १५ हजार खसी–च्याङ्ग्रा बिक्री भएको खण्डमा रु ३० करोडको कारोबार हुन्छ ।

विगत पाँच वर्षदेखि चितवनका मासु व्यवसायीले दसैँमा भारतीय खसीबोका आयात गरेका छैनन् । चितवनमा सञ्चालनमा आएका सहकारीहरूले खसीबोका उत्पादन गर्न थालेपछि भारतबाट खसीबोका नझिकाइएको अध्यक्ष कँडेलले बताए । उनका अनुसार यसपटक चितवनका खसीहरू काठमाडौं पठाइएको छ । चितवनमा गोरखा, धादिङ, नवलपरासी, तनहुँलगायत जिल्लाहरूबाट खसी आउने गरेको उनले जानकारी दिए । जिउँदो खसीको मूल्य रु ७०० भन्दा माथि पर्ने गर्दछ । तयारी प्रतिकिलो रु एक हजार दुई सयमा खसीको मासु चितवनको बजारमा बिक्री भइरहेको छ ।

कुखुराको मासु भने दसैँमा खासै बिक्री नहुने उनको भनाइ छ । उनका अनुसार रु चार करोड हाराहारीको कुखुराको मासु बिक्री हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा दसैँका लागि चितवनमा च्याङ्ग्रा मागभन्दा बढी आएको छ । पहिला मुस्ताङबाट मात्र च्याङ्ग्रा आउने चितवनमा यसपटक जुम्ला, बझाङ, डोल्पाबाट पनि चितवनको बजारमा च्याङ्ग्रा आइरहेको छ । यस वर्षको दसैँमा चितवनमा तीन हजारभन्दा बढी च्याङ्ग्रा आएको उनले बताए । जसका कारण व्यापार बढ्ने आकलन छ । यसअघिका दसैँमा फूलपातीबाट मासुको व्यापार बढ्ने भए पनि यस वर्ष घटस्थापनाबाटै बढेकाले खपत बढ्ने अनुमान गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  ०९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update