काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट महामन्त्री पदमा प्रदीप पौडेल, उदयशमशेर राणा र महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) विजयी भएका छन् ।
खुलातर्फको महामन्त्री पदमा प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् । त्यस्तै, उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा निर्वाचित भएका छन् ।
खुलातर्फको प्रतिस्पर्धामा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन् ।
यसैगरी, महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) विजयी भएकी छन् । आइतबार राति सार्वजनिक अन्तिम मतपरिणामअनुसार संग्रौलाले ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।
उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत प्राप्त गरेकी छन् ।
खुलातर्फका दुई महामन्त्री र महिला महामन्त्रीमा संग्रौलाको विजयसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।







