बाँके । साइकल चालकका रूपमा परिचित रमेशकुमार मल्ल उमेरले ६२ वर्षको भए ।
नेपालगन्ज उपमहानगरपालिका–१ वाटर पार्क निवासी मल्लले साइकलबाटै मेची महाकाली यात्रा पूरा गरेका छन् । “तराईमा बस्ने अनि साइकल नचलाउने भन्ने हुँदैन । तर साइकल चालक बनेर आफ्नो पहिचान बनाउनु सबैले सक्दैनन्,” मल्लले भने, “मैले सानैदेखि साइकल चलाउने गर्थेँ तर ठुलो हुँदै गएपछि पनि साइकल चलाइरहन मन लागेपछि यसलाई छाड्नै सकिन ।”
राष्ट्र बैङ्कमा ३० वर्ष सेवा गरी अवकाश लिएपछि मल्ल नजिक होस् या टाढा साइकलमै यात्रा गर्छन् । सन् २०१८ देखि नेपालगन्जमा माउन्टेन बाइक चलाऔँ भन्ने साथीहरूको भेलाले नेपालगन्ज साइक्लिङ क्लब स्थापना गर्यो । मल्ल पनि उक्त क्लबको साधारण सदस्य भए । क्लबमा आबद्ध भएदेखि उनलाई साइकल चलाउन झनै ऊर्जा मिलेको छ । “साइकल चलाउन त चलाइरहेकै थिएँ तर जब क्लबमा आबद्ध भएँ त्यसपछि साइकल चलाउने मेरो पेसा नै बनेको अनुभूति भयो र मैले निरन्तर साइकल चलाइरहेको छु”, उनले भने ।
मल्लले नेपालको पश्चिम सिमाना कुतिया कभरदेखि पूर्व झापाको केचना केवलसम्म एक हजार ११५ किलोमिटरसम्म साइकल यात्रा गरिसकेका छन् । मल्ल मात्रै होइनन्, नेपालगन्जमा पछिल्लो केही वर्षयता साइकल चलाउनेहरूको सङ्ख्या बढ्दो छ । मोटरसाइकल र गाडीहरू जस्तो ध्वनि र वायु प्रदूषण पनि नहुने भएकाले साइकल नै स्वस्थ जीवनको उपयोगी साधन भएकाले बजारमा साइकल चलाउनेको सङ्ख्या वृद्धि हुँदै गएको क्लबका पूर्वअध्यक्ष गगन थापाले बताए ।
साइक्लिङ गर्नुको मुख्य उद्देश्य बाँके र बर्दियामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु रहेको बताउँदै थापाले यस क्षेत्रमा साइकल चालकहरूको सङ्ख्यामा वृद्धि होस् भन्ने उद्देश्यले क्लबले ‘टुर दी ठाकुरद्वारा’ आयोजना गर्दै आएको जानकारी दिए ।
बाँकेबाट बर्दियासम्मको आन्तरिक पर्यटकलाई बढवा दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको बताउँदै थापाले भने, “हाम्रो पहिलो संस्करणमै पूर्वदेखि पश्चिमसम्मका साइकल चालकहरुले सहभागिता जनाउनुभएको थियो । यसले हामीलाई आजसम्म पनि संस्करण गरिरहन प्रेरणा दिएको छ ।”
कार्यक्रममा सहभागी विभिन्न जिल्लाका हुने भएकाले साइक्लिङ गर्दै बाँके र बर्दियासम्मको यात्रामा यहाँका धार्मिक, सांस्कृतिक, भौतिकलगायत अन्य पर्यटकीय दृश्यहरूको अवलोकन गरिने हुँदा ‘टुर दी ठाकुरद्वारा’ कार्यक्रममा सहभागिता जनाउनेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।
स्थापनाकालदेखि टुर दी ठाकुरद्वाराको आयोजना गर्दै आएको क्लबले यो वर्षको आठौँ संस्करण यही फागुनको ८ र ९ गते गर्ने भएको छ । क्लबका अध्यक्ष कविराम बुढाथोकीले यस वर्ष आयोजकले अघिल्लो वर्षको तुलनामा साइकल चलाउने बाटो र बसाइको व्यवस्थापन फरक तरिकाले गरेको बताए।
उनका अनुसार ८ गते बिहान बागेश्वरी मन्दिरमा उद्घाटनपश्चात् बाँकेको पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुञ्जको बफर जोनसँग बाँकेका पर्यावणहरुको भ्रमणपश्चात् बैजनाथा गाउँपालिका–१ स्थित गाभार भ्यालीस्थित ‘होम स्टे’मा पहिलो दिनको कार्यक्रम सकेर दोस्रो दिन बर्दियाको ठाकुरद्वारातिर प्रस्थान गर्ने कार्यक्रम छ ।
यो वर्ष आयोजना हुन लागेको उक्त टुर दी ठाकुरद्वाराको साइकल राइड कार्यक्रममा सातै प्रदेशका साइकल चालकहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
अध्यक्ष बुढाथोकीका अनुसार हालसम्म भारतको बरेली, लखनऊ, दिल्ली र नैनीताल गरी अन्य विभिन्न सहरबाट २१ जना भारतीय साइकल चालकहरूले सहभागिता जनाउनका लागि नाम दर्ता गराइसकेका छन् । यस वर्षको कार्यक्रममा महिला र बालबालिकाको सङ्ख्या उल्लेखनीय रहने जनाइएको छ ।
काठमाडौँबाट मात्रै ५० देखि ६५ वर्षसम्म उमेर समूहका ५० जना महिला साइकल चालकले सहभागिता जनाउन लागेको अध्यक्ष बुढाथोकीले बताए । शारीरिक रूपमा अपाङ्गता भएका चालकहरूले पनि सहभागिता जनाउने भएका छन् ।
अनुमानित बजेट रु २७ लाखमा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाहरूले आर्थिक सहयोग गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए । यस वर्ष करिब ३०० को सङ्ख्यामा साइकल चालकको सहभागिता रहने अध्यक्ष बुढाथोकीको भनाइ छ । रासस





