Khabar Out
चितवनमा आगन्तुक जलपन्छीको सङ्ख्यामा वृद्धि

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपन्छीको सङ्ख्यामा वृद्धि भएको छ । यही पुस २४, २५ र २६ गते गरिएको गणनाअनुसार ६२ प्रजातिका जलपन्छी भेटिएका छन् । गत वर्षको गणनामा ५५ प्रजातिका आगन्तुक जलपन्छी भेटिएका थिए ।

गत वर्षभन्दा यस वर्ष सात प्रजातिका चराहरू थपिएका हुन् । जसमा तिलरी चरा, कुर्मा मलाहा चिल, लामो ठूडे राजपुत्रीका रहेका छन् । जलपन्छी गणनाका क्रममा आगन्तुक चराहरू भने घटेका छन् । गत वर्ष आठ हजार ८६ सङ्ख्या देखिएकामा यस वर्ष पाँच हजार ८४८ मात्र देखिएका हुन् ।

नेपाल पन्छीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार चखेवा यस वर्ष दुई हजार ७४० रहेको छभने अघिल्लो वर्ष चार हजार १०७ रहेको उनले जानकारी दिए । जलकौवा र पानी गौँथली क्रमशः ५०८ र २०९ रहेको छ । गत वर्षको गणनामा जलकौवा ४५६ र पानी गौथली २५० रहेका थिए ।

चखेवाको सङ्ख्या एक हजार ३६७ ले घट्नु चुनौतीका रूपमा रहेको पाइएको उनले बताए । मानवीय चाप, प्रदूषण र मिचाहा प्रवृत्तिको उपस्थिति थप चुनौतीका रूपमा रहेको उनले बताए ।

चरा गणनामा ७० जना चरा विज्ञहरू सहभागी थिए । लोथर खोलाबाट, जिन्दगानीघाट, सौराहा, ढुङ्ग्रे खोला, कसरा पुल हुँदै राप्ती नदीमा चरा गणना गरिएको हो । नरायणी नदी, माडीको रिउ खोला, बाटुली पोखरी, कुमाल ताल, टिकौली ताल, सत्रहजारी ताल र नहर क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन केन्द्र, बुढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म गणना गरिएको हो ।

बर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष विजय गिरीका अनुसार राप्ती नदीको घडगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा समेत गणना गरिएको हो ।

बर्ड एजुकेशन सोसाइटी, नेपाल पन्छीविद् सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनको सहकार्यमा गणना गर्न गरिएको उनले जानकारी दिए । उनका अनुसार पैदल, डुङ्गाको सहायता र गाडीबाट चरा गणना गरिएको हो ।

बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकडरलगायतका प्रयोग गरी चराको गणना गरिएको हो । सङ्घका अध्यक्ष बिडारीका अनुसार देशभर ९०४ प्रजातिका चरा पाइन्छन् भने चितवनमा ६६२ प्रजातिका चरा पाइन्छन् । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो । यो वर्ष ६० औँ पटक गणना गरिँदै हो ।

नेपालमा जलपन्छी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रुसको दक्षिणी भाग, साइबेरीया, मध्य एसियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उनले जानकारी दिए । चिसो छल्नका लागि चराहरू यहाँ आउने गरेको बिडारीले बताए । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update