Khabar Out
चितवन निकुञ्जमा पहिलो भागको बाघ गणना सकियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पुस ३ गतेदेखि सुरु भएको बाघ गणना जारी छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर गणाना गरिँदैछ भने पहिलो भागको गणना सकिएको छ । 

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पहिलो भागको गणना सकेर क्यामरा झिक्ने काम सुरु गरिएको छ । 'शनिबारदेखि क्यामरा उठाउने काम सुरु भएको छ । सोमबारसम्ममा पहिलो भागको क्यामेरा उठाउने काम सम्पन्न हुन्छ,' उनले भने । पुस १ र २ गते तालिम दिएका १५० जना गणकहरू गणनामा खटिएका छन् ।

त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको सूचना अधिकारी मगरले जानकारी दिए । उनका अनुसार पहिलो भागअन्तर्गत यस क्षेत्रमा २८६ वटा ग्रिड बनाएर गणना गरिएको छ । क्यामरा उठाएपछि दोस्रो भागमा क्यामेरा जडान गरी गणना सुरु गरिनेछ ।

दोस्रो भागमा १३ वटा क्याम्प बनाएर गणक खटिने निकुञ्जका सूचना अधिकारी मगरले बताए । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, हुँदै, बोटे सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिनेछ ।

'सो भागलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिने छ,' उनले भने, 'एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामरा राखिनेछ ।' थापाका अनुसार एउटा भागमा दुई साता क्यामेरा राखेर बाघ गणना गरिनेछ ।

चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिँदै छ । यसको अर्थ दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बाघ गणना गरिँदै छ ।

तीन महिना लगाएर बाघ गणना गर्न लागिएको सूचना अधिकारी मगरले बताए । हरेक चार वर्षमा बाघ गणना गरिन्छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदारहरू गणनामा सहभागी भएका छन् । ग्रिडहरूको बीचभाग पर्ने ठाउँमा गणना गर्ने प्राविधिक क्याम्प खडा गरेर बस्ने गरिएको उनले जानकारी दिए ।

गणकहरूले भूगोल अनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामरा दैनिक अनुगमन गर्ने सूचना अधिकारी मगरले जानकारी दिए । 'ग्रिडबाट क्यामेरा निकालेपछि अध्ययन थालिनेछ । बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिनेछ । ती क्यामेराले बाघको फोटो खिच्ने गर्छ,' उनले भने ।

बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले बताउनुभयो । हरेक बाघको पाटा फरक–फरक हुने गर्छ । 'पहिलो कम्प्लेक्स (क्षेत्र) यो हो भने दोस्रो कम्प्लेक्स बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई बनाइएको छ । त्यहाँभित्र पनि तीनवटा ब्लक हुनेछन् । तेस्रो कम्प्लेक्स शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझन्डी हुनेछ । यो एउटै ब्लक बनाइनेछ,' उनले भने ।

यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्यांक सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए । रासस

प्रकाशित मिति: आइतबार, पुस २०, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update