Khabar Out
मुस्ताङमा दुर्लभ हिउँचितुवाको संख्या पत्ता लगाउन क्यामरा जडान

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँचितुवाको संख्या पत्ता लगाउन अध्ययन सुरु गरिएको छ ।

बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेकमा हिउँचितुवा संख्या यकिन गर्न क्यामेरा ट्र्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो ।

यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका उच्चलेकमा हिउँचितुवाको संख्या यकिन गर्न, आहारा प्रजातिको अवस्था र मानव र हिउँचितुवाबीचको द्वन्द्वको अवस्था पहिल्याउन सुरु गरिएको बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार गत सातादेखि यहाँको वारागुङ मुक्तिक्षेत्रको झोङ,पुडाक, छेङ्गुर, थोरङ्फेदी, फल्याक, धार्काजुङ र मुस्ताङ-डोल्पा सडकको उच्चलेकमा १५ थान क्यामरा जडान गरिएको छ ।

अब घरपझोङ गाउँपालिकाअन्तर्गत स्याङ, मार्फा र चिमाङ गाउँको उच्चलेकमा थप क्यामरा जडान गरिने कार्यक्रम रहेको उनले जानकारी दिए । बायोकोसका प्रतिनिधि बायोलोजिस्ट गुरुङ र सहयोगी प्रवीन लामा क्यामरा जडानकार्यमा खटिएका छन् । यसैगरी एक्याप जोमसोमबाट प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओली पनि टिममा छन् ।

हिउँचितुवाको सम्भावित बासस्थान क्षेत्रलाई केन्द्रित गरी राखिएका क्यामेरा दुई महिनासम्म रहनेछन् । बायोलोजिस्ट गुरुङले दुई महिनापछि क्यामरा झिकेर ल्याई सफ्टवेयर अपडेट गरी हिउँचितुवाको विस्तृत विवरण संकलन थालिनेब ताए । डाटा सबै एक्यापलाई हस्तान्तरण हुनेछ ।

बायोकोस नेपालले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको विभिन्न क्षेत्रमा हिउँचितुवाको अध्ययन गर्न क्यामरा ट्र्यापिङ लगायतका कार्य गर्दै आइरहेको छ । सन् २०२२ देखि मनाङमा चार वर्षसम्म निरन्तर हिउँचितुवाको अध्ययन गर्न क्यामरा ट्र्यापिङ गरिएको थियो ।

पछिल्लो समय मुस्ताङमा हिउँचितुवा र मानवबीच द्वन्द्व बढेको देखिन्छ । हिउँचितुवा उच्चलेक छाडेर सडक र बस्तीमा झर्ने अनि यहाँका पशुपालकको गोठमै पसेर पशुचौपाया लगायतलाई क्षति पुर्‍याउने घटना दोहोरिरहेका छन् । जलवायु परिवर्तनका कारण उच्चलेकमा चरनक्षेत्रमा घाँस पलाउन छाडेको र पानीका स्रोत सुक्दै जान थालेपछि हिउँचितुवाको आहारा नाउर खोला र बस्तीसम्म झर्ने गरेको पाइएको छ । रासस

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update