Khabar Out
जेनजी पुस्ताको रोजाइमा ‘मौरिस हर्जोग’ पदमार्ग

म्याग्दी । म्याग्दीको अन्नपूर्ण आधार शिविर र 'मौरिस हर्जोग' पदमार्ग युवा पुस्ता अर्थात् 'जेनजी' को पहिलो रोजाइ बनेको छ। दसैँ-तिहारको बिदामा पोखराकी दिवाना सुनुवार र बनेपाकी अनुषा लामा जस्ता धेरै युवा पर्यटक अन्नपूर्ण आधार शिविर घुम्न पुगेका छन् । 

मौसममा सुधार आएसँगै दैनिक तीन सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन्, जसमा करिब ८० प्रतिशत जेनजी पुस्ताका छन् । सामाजिक सञ्जालमा भाइरल भएका फोटो र भिडियो देखेर लोभिएर आएका उनीहरू नयाँ ठाउँ घुम्न र प्रकृतिमा रमाउन चाहन्छन् ।

छोटो दूरीमा हिमाल, ताल, झरना, फरक भूगोल र वन्यजन्तुको अवलोकन गर्न पाइने भएकाले अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्ग युवाहरूबिच लोकप्रिय बनेको हो । सन् १९५० मा अन्नपूर्ण हिमाल आरोहण गर्ने फ्रान्सका मौरिस हर्जोगको सम्मानमा नामकरण गरिएको यो पदमार्ग वि.सं. २०८० देखि सञ्चालनमा आएको हो ।

पर्यटकको चाप बढेसँगै हुमखोला, साँघीखर्क लगायतका ठाउँमा स्थानीयवासीले अस्थायी टहरा र टेन्टमा होटल चलाएका छन् । तर, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्‍याप)ले स्थायी संरचना बनाउन नदिएको र विद्युत् तथा सञ्चार सुविधाको समस्या रहेको व्यवसायी बताउँछन् । 

फोहर व्यवस्थापन र होटलको क्षमता विस्तार मुख्य चुनौती बनेको छ। गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पदमार्गको स्तरोन्नति र सुविधा थप गर्न प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गर्ने आश्वासन दिएका छन् । गाउँपालिकाले पनि एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणलाई निरन्तरता दिएको छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update