
म्याग्दी । म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन् ।
धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार रातिदेखि हराएका एक जना नेपाली पथप्रर्दशक र एक जना जर्मनका पर्यटक शनिबार राति सम्पर्कमा आएको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पा शनिबार राति ९ः०० बजे घरपझोङ गाउँपालिका–३ स्याङमा आइपुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए ।
सेभेन समिट ट्रेकिङमार्फत पदयात्रामा आएका उनीहरू रातिको समयमा बाटो बिराएर हराएको बताएका छन् । मार्फा निस्कनुपर्नेमा जङ्गलैजङ्गलको बाटो भएर स्याङमा पुगेका हुन् । उनीहरूको खोजीमा कम्पनीले हेलिकप्टर पनि परिचालन गरेको थियो । रासस