
काठमाडौँ । चीनसँग जोडिएको नेपालको हुम्ला हिल्सा नाका गत वैशाख १८ गते खुलेपछि ६ हजार ४०७ जना विदेशी पर्यटक हुम्ला भित्रिएका छन् ।
जेठदेखि असोजको पहिलो सातासम्म नेपालगन्ज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने करिब ६ हजार भारतीय तीर्थयात्री पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए । 'अन्य देशका ४ सय ५० जनासहित हुम्लामा ६ हजार ४०७ विदेशी पर्यटक हुम्ला पुगेका हुन् । जेठको दोस्रो साताबाट हुम्ला भएर मानसरोवर दर्शनका लागि २५ जना विदेशी पर्यटक यहाँ पुगेका थिए,' उनले भने ।
मानसरोवर कैलाश दर्शनका लागि हुम्लाको रुट छोटो दुरीमा पर्ने भएकाले जेठ, असार, साउन, भदौ र असोजको पहिलो सातासम्म विमानस्थलमा विदेशी तीर्थयात्रीको चाप बढ्ने गरेको थियो ।
चीनले कोरोनापछि हिल्सा नाकालाई हुम्लीसहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि भएको सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिकाबाट खटिएका दीपेन्द्र भण्डारीले बताए ।
जिल्लाको सिमकोट र नाम्खा गाउँपालिकाले हुम्ला पुगेका विदेशी पर्यटकबाट शुल्कसमेत उठाउँदै आएको छ । भारतीय प्रतिव्यक्ति तीर्थयात्रीबाट १ हजार १ सय राजस्व सङ्कलन गर्दै आएको छ भने अन्य देशका पर्यटकबाट १ हजार ५ सय शुल्क लिने गरेको छ ।
मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय हुम्ला पुगेका ५ हजार ९५७ जनाबाट ६५ लाख ५२ हजार शुल्क र अन्य देशका पर्यटकबाट ६ लाख ७५ हजार राजस्व सङ्कलन भएको छ ।
तीर्थयात्रीको सिजन सकियो
हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको यस वर्षको यात्रा सकिएको छ । चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीको यस वर्षको मानसरोवर कैलाश यात्राको याम सकिएको होटल व्यवसायी मिम लामाले जानकारी दिए ।
काठमाडौँ, नेपालगञ्ज हुँदै हुम्लाको हिल्सा भएर तीर्थयात्रीहरु मानसरोवर जाने गरेका छन् । कोरोना सङ्क्रमणपछि भारतीय तीर्थयात्रीको धेरै सङ्ख्या हुम्ला भएर मानसरोवर दर्शन गर्न पुगेका हुन् । जसका कारण सदरमुकाम सिमकोट र चीनसँगको सीमा नाका हिल्सामा रहेका होटल व्यवसायीले यस वर्ष राम्रो आम्दानी गरेका छन् । अन्य देशबाट जिल्लाका विभिन्न स्थानमा घुम्न आउने एकदुई जना फाट्टफुट्ट भए पनि भारतीय तीर्थयात्रीको याम सकिएको छ ।
पर्यटक आउँदाको समय दैनिक बिहानदेखि बेलुका ५ः०० बजेसम्म व्यस्त रहने सिमकोट विमानस्थल यतिबेला सुनसान देखिएको छ । जेठ, असार, साउन र भदौमा सिमकोट विमानस्थल निकै व्यस्त देखिनुका साथै नागरिकको समेत बाक्लो चहलपहल हुन्थ्यो ।असोजको दोस्रो हप्तादेखि सुनसानजस्तै देखिन थालेको छ । मानसरोवर कैलाश दर्शन यात्रा सकिएसँगै निजी जहाज पूर्वमा उडान भर्दा विमानस्थलमा चहलपहल कम देखिएको हो ।