Khabar Out
धौलागिरि हिमाल आरोहण सुरु

म्याग्दी । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण सुरु भएको छ ।  धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित छ । 

सभेन समिट ट्रेक्समार्फत आरोहणका लागि गएका तीन जना नेपाली शेर्पाको सहयोगमा स्पेन, चीन र फ्रान्सका एक/एक जनाले आइतबार धौलागिरिको सफल आरोहण गरेका हुन् । 

स्पेनका जर्ज इगोचेगा रोड्रिगेज, चीनका पिङ लु, फ्रान्सका क्याथरिन मार्सेल रोजा बरी, नेपालका पेमा नर्बु शेर्पा, तारमण तामाङ र पेम्बा टासी शेर्पाको टोलीले धौलागिरिको सफल आरोहण गरेका सेभन समिट ट्रेक्सका सञ्चालक मिङमा शेर्पाले जानकारी दिए। 

उनका अनुसार १४ शिखर अभियान र सात शिखर पदयात्राका शेर्पाहरुको संयुक्त टोलीले शुक्रबार धौलागिरिको चुचुरोसम्म बाटो खोलेका र शनिबार ‘रोप फिक्सिङ’ (डोरी टाँगेका) थिए 

पर्यटन विभागका अनुसार शरदयाममा धौलागिरि आरोहणका लागि तीन वटा समूहका सात महिला र १७ पुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट रु ५० लाख ७१ हजार सलामी दस्तुर (शुल्क) प्राप्त भएको छ । 

गत वसन्तयाममा दुई वटा समूहका १५ जनाले आरोहण अनुमति लिएवापत रु ३६ लाख ९१ हजार दुई सय ६० राजस्व सङ्कलन भएको थियो । २०२४ को शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीहरुले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो । 

छिनछिनमा परिवर्तन हुने मौसम धौलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धौलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अष्ट्रियाका कुर्ट डिम्बर्गरको टोलीले पहिलो पटक धौलागिरि हिमालको सफल आरोहण गरेको थियो । रासस

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update