
काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौँ महानगरपालिका–२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरेको हो ।
उक्त केन्द्रको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले शुभारम्भ गरे । मन्त्री ठकुरीले सूचना केन्द्रले ठमेल मात्र नभई नेपालकै पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले बागमती प्रदेशले चितवनपछि ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरेको जानकारी दिँदै उक्त केन्द्रबाट पर्यटकले नेपालको पर्यटकीय गतिविधिका बारेमा थाहा पाउने बताए । ठमेलमा सार्वजनिक शौचालय समेत निर्माण गरिने उनको भनाइ छ ।
काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले उनीहरुलाई सूचना केन्द्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले प्रदेशभित्रका सबै जिल्लाको पर्यटकीय गन्तव्यलाई समेटेर ‘ट्राभल बुक’ प्रकाशन गर्न लागेको जानकारी गराए ।
आजदेखि सुरु भएको उक्त सूचना केन्द्रबाट पर्यटकलाई नेपालको पदमार्ग, यातायात, होटल, स्थानीय कला संस्कृतिलगायतका बारेमा जानकारी प्रदान गरिने बागमती प्रदेश पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख पवनकुमार पोखरेलले जानकारी दिए ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान चिनाउने ठमेललाई व्यवस्थित गर्न परिषद्ले काम गरिरहेको बताए । रासस