Khabar Out
भाले गैँडा सदर चिडियाखाना पठाइयो

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जले सौराहाको राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको एउटा भाले गैँडा (माइला) लाई सदर चिडियाखाना ललितपुरमा पठाएको छ ।  वन तथा वातावरण मन्त्रालयको गत वैशाख २४ गतेको निर्णयअनुसार २३ महिनाको सो गैँडालाई बुधबार साँझ ललितपुर पठाइएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बच्चा गैँडालाई चिडियाखाना पठाइएको हो ।  बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको माइलालाई यहाँ ल्याएर हुर्काइएको थियो । मन्त्रालयको निर्णयअनुसार अर्को पोथी गैँडा पनि लैजाने तयारी गरिएको छ । उनले भने, ‘करिब ३० महिनाको पोथी गैँडा (पुजा) लाई पनि लैजाने तयारी गरिएको छ ।’

बुधबार नै पठाउने तयारी गरिएको भए पनि पूजा खोरमा जान नमानेपछि केही दिनपछि पठाउने तयारी गरिएको उनले बताए । सदर चिडियाखानामा गैँडा हेर्न आउने पर्यटकलाई देखाउनका लागि गैँडाका बच्चा लगिएको हो । हुर्काइएका गैँडा लैजाँदा मानवीय क्षति कम हुने भएकाले यस्ता गैँडा लगिने गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update