Khabar Out
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार

गलकोट  । बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा अस्थित छ । धार्मिक रूपमा महत्त्वपूर्ण क्षेत्र मानिएको गाजा दहमा पछिल्लो समय पर्यटकीय पूर्वाधार थपिन थालेका छन् । 

जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्दछ । यहाँ जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्ध बराहको मन्दिर निर्माणलगायत पूर्वाधार थपिँदै गएका हुन् । 

अहिले मन्दिर निर्माणको चरणमा रहेको छभने गाजा दहलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेगरी झुलासहितको पूर्वाधार गत वर्ष निर्माण गरिएको जैमिनी नगरपालिकाले जनाएको छ । 

ताल वरपर परम्परागत शैलीमा ढुङ्गा छपाएर रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गाजादहमा पूर्वाधार निर्माण गर्न महायज्ञ लगाएर सहयोग रकमसमेत सङ्कलन गरिएको जैमिनी–३ का वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए । 

उनले प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा सामान्य सहयोग गरे पनि थप पूर्वाधार निर्माणका लागि महायज्ञमार्फत ७२ लाख सङ्कलन गरिएको जानकारी दिए । उनका अनुसार अहिले दहभित्र २० फिटको सिद्ध बराहको मन्दिर निर्माण भइरहेको छ । स्थानीयको १० लाख र महायज्ञको १० लाख गरी २० लाखको लागतमा सिद्ध बराहको मन्दिर निर्माण थालिएको उनले बताए ।  

गएको गत वर्ष तीन लाखको लागतमा नगरले दहमा दृश्यावलोकनस्थल निर्माण गरेको थियो । अहिले सिद्ध बराहको मन्दिर निर्माण थालिएको छ, पदमार्गसहित संरचना थपिएका छन् । पूर्वाधार थपिँदा शौन्दर्यकरणमा वृद्धि भएको छ, ताल संरक्षण मुख्य चुनौती हो’, भुजेलले भने, ‘धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण मानिएको यस दहमा आन्तरिक पर्यटकको आगमन वृद्धि भएको छ । अहिले गुराँसको वनभित्रको ताल मनमोहक देखिन्छ ।’ 

गाजा दहमा सदरमुकाम बागलुङ बजारबाट २४ किलोमिटरको यात्रा पूरा गरेपछि पुग्न सकिन्छ । जहाँ रहेको सिद्ध बराहको थानमा जैमिनी, गलकोट, बागलुङ, काठेखोला र बरेङका बासिन्दा नियमित पूजा गर्छन् । गाजादहबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे«लगायत एक दर्जन हिमऋङ्खला देख्न सकिने हिमाल सुवेदीले बताए । उनले दह पुग्ने सडक थप स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । 

सिँगानासम्म कालोपत्र सडक पुगे पनि त्यहाँबाट १४ किमी स्तरोन्नति हुन बाँकी छ । हरेक वर्ष सिद्धथानमा बैकुण्ठ चतुदर्शी तथा बाला चतुदर्शीमा परम्परागत मेला लाग्ने भएकाले दहको महत्त्व बढ्दै गएको वडाध्यक्ष भुजेलले उल्लेख गरे । रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update