Khabar Out
नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती कमला श्रेष्ठको नाममा समेत राखेको दाबी गर्दै रु चार करोड ७४ लाख ४६ हजार ८१३ दशमलव ४९ पैसा बिगो कायम गरेको छ।

आयोगका अनुसार श्रेष्ठले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा श्रेष्ठको नियुक्ति भएको मिति २०५३ साल असार २७ देखि २०८१ साल चैत २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी उनी तथा उनको एकाघर परिवारका सदस्यको आय–व्ययको विस्तृत गणना र विश्लेषण गरिएको थियो।

आयोगले अनुसन्धानका क्रममा श्रेष्ठको वैध आय तथा विभिन्न शीर्षकमा भएको खर्च र लगानीबीचको तुलना गर्दा आयस्रोतले पुष्टि गर्न नसक्ने सम्पत्ति आर्जन गरेको देखिएको जनाएको छ। गैरकानुनी रूपमा आर्जन गरिएको भनिएको सम्पत्तिको केही हिस्सा उनकी श्रीमतीका नाममा समेत रहेको आयोगको दाबी छ ।

श्रेष्ठविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित तथा निषेधित कसुर गरेको अभियोग लगाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

आयोगले श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कैद सजाय, कायम गरिएको बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ । साथै उनकी श्रीमतीका नाममा रहेको गैरकानुनी रूपमा आर्जित सम्पत्ति पनि जफत गर्न सम्बन्धित कानुनी प्रावधानबमोजिम मागदाबी लिइएको आयोगले जनाएको छ।

आयोगका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने तथा अन्य व्यक्तिका नाममा राख्ने कार्य पनि अनुसन्धानको दायरामा ल्याइएको हो । सोही आधारमा श्रेष्ठ तथा उनकी श्रीमतीका नाममा रहेको सम्पत्तिसम्बन्धी विवरण अनुसन्धान गरी कानुनी कारबाहीका लागि आरोपपत्र दायर गरिएको हो।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  २१:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update