काठमाडौं । 'विश्वको नेतृत्वका लागि नेपाल' अभियान सञ्चालन गर्नुभएका वैज्ञानिक सन्त परमपूज्य महर्षि महेश योगीको नेपाल आगमनको ५२औँ वार्षिकोत्सवको अवसर पारेर विश्वशान्ति, मानवकल्याण तथा प्राकृतिक विपत्तिबाट प्रभावितहरूको सुख, शान्ति र समृद्धिको कामनासहित त्रिदिवसीय विश्वकल्याण महारुद्राभिषेक यज्ञ आयोजना हुने भएको छ ।
नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा आगामी कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म काठमाडौंको दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा उक्त यज्ञ सञ्चालन हुन लागेको हो ।
यज्ञमा सहभागिता र सहयोगका लागि आग्रह गर्दै कार्तिक १५ गते ललितपुरको महालक्ष्मीथान परिसरमा आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाले विश्वमा दिगो शान्ति स्थापनाका लागि योग, ध्यान र यज्ञको अभ्यास आवश्यक रहेको बताए ।
दोस्रो विश्वयुद्धका क्रममा समेत दश हजार ब्राह्मणद्वारा यज्ञ गरिएको प्रसङ्ग स्मरण गर्दै अध्यक्ष बास्कोटाले विश्वमा शान्ति र सद्भाव कायम गर्न आध्यात्मिक चेतना आवश्यक रहेको धारणा व्यक्त गरे । हरेक राष्ट्रले शान्ति चाहेको भए पनि शान्ति प्राप्तिको सही मार्ग पहिल्याउन नसक्दा विश्वका विभिन्न क्षेत्रमा हिंसा र द्वन्द्व भइरहेका छन् । यस्तो अवस्थामा योग, ध्यान र यज्ञमार्फत शान्तिको वातावरण निर्माण गर्न सकिने अध्यक्ष बास्कोटाको भनाइ थियो ।
नेपालमा पछिल्लो समय बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय तथा आर्थिक क्षति भएको उल्लेख गर्दै अध्यक्ष बास्कोटाले पीडितहरूको कल्याण र मुलुकको सुख, शान्ति तथा समृद्धिको कामनासहित महायज्ञ आयोजना गर्न लागिएको बताए । उनले विश्वशान्ति र मानवकल्याणको पवित्र उद्देश्यले सञ्चालन हुन लागेको अभियानमा सबै क्षेत्र, समुदाय र नागरिकको साथ तथा सहयोगका लागि अपिलसमेत गरे ।
कार्यक्रममा प्रा.डा. विद्यानाथ कोइराला, नेपाल सरकारका पूर्वसचिव कृष्ण ज्ञवाली तथा ऋषिकेश तिवारीले योग, ध्यान र यज्ञको महत्वबारे आ–आफ्ना धारणा राखेका थिए । उनीहरूले विश्वशान्ति, मानवकल्याण र सकारात्मक सामाजिक चेतना अभिवृद्धिको उद्देश्यले आयोजना हुन लागेको यज्ञप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पत्रकार, साहित्यकार, शिक्षाविद् तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालक भरत पौडेलले योग, ध्यान र यज्ञको दार्शनिक तथा व्यावहारिक महत्वबारे प्रकाश पार्दै कार्यक्रम सञ्चालन गरेका थिए ।







