काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९० औँ वार्षिकोत्सव मनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सोमबार बैंकको प्रधान कार्यालयमा आयोजित समारोहमा वार्षिकोत्सव मनाइएको हो ।
वि.सं. १९९४ कार्तिक ३० गते स्थापना भएको बैंकले ८९ वर्ष पूरा गरी ९०औँ वर्षमा प्रवेश गरेको हो । समारोहमा अर्थमन्त्री वाग्लेले बैंकलाई वित्तीय तथा आर्थिक अनुशासन कायम गर्दै खराब कर्जा असुलीमा विशेष ध्यान दिन र सुशासनको उच्च मापदण्ड कायम गर्दै डिजिटल रूपान्तरणमार्फत सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै वित्तीय क्षेत्र सुधारका लागि सरकारले अघि सारेका तीनबुँदे कार्यसूची कार्यान्वयन गर्न आग्रह गरे ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर दीर्घबहादुर रावल विशिष्ट अतिथि रहेको कार्यक्रमको अध्यक्षता बैंकका सञ्चालक समिति सदस्य बद्री खनालले गरेका थिए ।
त्यसैगरी कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नेपालमा बैंकिङ इतिहासको सुरुआत गर्दै आएको बैंकले बचत संस्कृतिको विकास, आर्थिक स्रोत परिचालन, पुँजी निर्माण तथा औद्योगिक र व्यापारिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए।
नेपालको बैंकिङ क्षेत्रमा गौरवमय इतिहास बोकेको बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ, निक्षेप चार खर्ब १६ अर्ब रुपैयाँ र कर्जा प्रवाह दुई खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । बैंकका ग्राहक सङ्ख्या २९ लाख २४ हजार रहेका छन् भने निष्क्रिय कर्जा अनुपात ४.१८ प्रतिशत रहेको छ । बैंकले ७१ जिल्लामा शाखा विस्तार गर्नुका साथै २५० एटिएम सञ्चालनमा ल्याएको र मोबाइल बैंकिङ प्रयोगकर्ता १० लाख पुगेको जानकारी गराएको थियो ।
हाल बैंकले देशभर २३० शाखा, ५७ एक्सटेन्सन काउन्टर र २५० एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। करिब १६ लाख ग्राहक डिजिटल बैंकिङ सेवाबाट लाभान्वित भएका छन् ।
कार्यक्रममा बैंकमा २५ वर्ष सेवा गरेका तीन जना र २० वर्ष सेवा गरेका १० जना कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट कार्यसम्पादन गर्ने १२ शाखालाई पुरस्कृत गरिएको थियो । प्राकृतिक विपत्तिका बाबजुद बैंकिङ सेवा निरन्तर सञ्चालन गरेका त्रिशूली र धुन्चे शाखालाई सम्मान गरिएको थियो ।







