Khabar Out
त्रिदिवसीय विश्वकल्याण महारुद्राभिषेक यज्ञ कार्तिक २९ देखि आयोजना हुदै

काठमाडौं । विश्वशान्ति, मानवकल्याण, नेपालको दिगो शान्ति तथा प्राकृतिक विपत्तिमा दिवंगत भएकाहरूको मुक्तिको कामनासहित काठमाडौंमा तीनदिने विश्वकल्याण महारुद्राभिषेक यज्ञ आयोजना हुने भएको छ ।

नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा आगामी कार्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म काठमाडौंको दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा त्रिदिवसीय विश्वकल्याण महारुद्राभिषेक यज्ञ आयोजना गर्न लागिएको हो ।

विश्वको नेतृत्वका लागि नेपाल (Nepal to Lead the World) भन्ने उद्घोषसहित ५२ वर्षअघि टुँडिखेलमा नेपाललाई विश्वस्तरमा परिचित गराउने अभियान सुरु गर्नुभएका वैज्ञानिक सन्त परमपूज्य महर्षि महेश योगीको नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा यज्ञ आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अनुसार विगत दुई वर्षदेखि महर्षि महेश योगीको नेपाल आगमनको वार्षिकोत्सव पारेर महायज्ञ आयोजना गरी मनाउने निर्णयअनुसार यस वर्ष पनि आत्मकल्याण, नेपालको दिगो शान्ति एवं विश्वकल्याणका साथै हालैका प्राकृतिक विपत्तिमा दिवंगत भएकाहरूको मुक्तिको सङ्कल्पसहित यज्ञ गर्न लागिएको हो ।

फाउन्डेसनले यसअघि पनि महर्षि महेश योगीको नेपाल आगमनका अवसरमा विभिन्न धार्मिक तथा वैदिक अनुष्ठान आयोजना गर्दै आएको छ । २०८१ साल कार्तिक २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महर्षि महेश योगीको नेपाल आगमनको स्वर्ण महोत्सव समारोह भव्य रूपमा मनाइएको थियो । सो अवसरमा एक हजार १११ जना भावातीत ध्यान तथा सिद्धि साधक र वैदिक बटुक पण्डितहरूद्वारा विराट महायज्ञ गरिएको थियो ।

त्यसैगरी, २०८२ साल कार्तिक २४ गते दक्षिणकाली नगरपालिका–१ बोसनस्थित ब्रह्मानन्द सरस्वती ग्राममा महर्षि महेश योगीको नेपाल आगमनको ५१औँ वर्ष दिवसका अवसरमा १५१ जना वैदिक पण्डितद्वारा एकदिवसीय महारुद्राभिषेक यज्ञ गरिएको थियो ।

यस वर्षको यज्ञमा त्रिदिवसीय विश्वकल्याण महारुद्राभिषेकसहित शास्त्रीय विधिपूर्वक महालक्ष्मीको विशेष आराधना पनि गरिने आयोजकले जनाएको छ । यज्ञमा स्वयं कर्ता बनी सहभागी हुन इच्छुक महानुभावलाई पाँच हजार एक सय रुपैयाँ सहयोगसहित नाम दर्ता गरी दक्षिणा राख्न अनुरोध गरिएको छ । कर्ता बन्न चाहनेहरूले यज्ञको पहिलो वा दोस्रो दिन स्वयं उपस्थित हुन सक्ने व्यवस्था मिलाइएको छ ।

यज्ञमा सहभागी हुन नसक्नेहरूका लागि पनि गोत्र, नाम र ठेगानाका आधारमा वैदिक पण्डितहरूबाट सङ्कल्प गराइदिने व्यवस्था गरिएको आयोजकले जनाएको छ । सहभागी हुन नसक्नेले नाम दर्ता गराएपछि यज्ञमा उपस्थित नभए पनि आफ्नो नाममा सङ्कल्प गराउन सक्नेछन् । यज्ञ दर्शन तथा फल प्राप्तिका लागि श्रद्धापूर्वक सहभागी हुन आयोजकले सबैमा आग्रह गरेको छ ।

यज्ञको महत्वबारे आयोजकले श्रीमद्भागवत गीतामा उल्लेख भएअनुसार ब्रह्माजीले सृष्टिको सुरुवातमै यज्ञसहित मनुष्यको सृष्टि गरेको र यज्ञद्वारा देवतालाई प्रसन्न गराउँदा वर्षा हुने, वर्षाबाट अन्न उत्पादन हुने तथा अन्नबाट प्राणीको रक्षा हुने मान्यता रहेको उल्लेख गरेका छन् । त्यसैले निरन्तर यज्ञ–अनुष्ठान गर्नु मानवको परम कर्तव्य भएको आयोजकको भनाइ छ ।

फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाले यज्ञमा सहभागी भई धार्मिक अनुष्ठान सफल बनाउन तथा विश्वशान्ति र मानवकल्याणको अभियानमा साथ दिन सम्पूर्ण श्रद्धालु, भक्तजन तथा सर्वसाधारणमा आग्रह गरेका छन् ।

यज्ञमा आर्थिक सहयोग गर्न चाहने श्रद्धालु तथा भक्तजनका लागि नेपाल महर्षि वैदिक फाउन्डेसनको नाममा नेपाल एसबीआई बैंक लिमिटेड, गौशाला शाखामा रहेको खाता नम्बर २१७२५२४०२००१८५ मार्फत सहयोग गर्न सकिने जनाइएको छ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update