Khabar Out
अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गरिँदै

बाँके । बाँकेमा सञ्चालित तारे होटलहरूले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् ।

अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै बाँकेमा रहेको होटल तथा पर्यटन व्यवसायीले विभिन्न आकर्षक प्याकेजसँगै साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रम तय गरेका छन् । “पर्यटन व्यवसायलाई चलायमान बनाउन परिस्थिति सुधारको पर्खाइभन्दा हामी आफ्नै अग्रसरतामा केही गर्नुपर्ने आवश्यकता देखिएको छ”, नेपालगञ्जस्थित होटल स्टार लाइटका फ्रन्ट म्यानेजर विनोद बुढाथोकीले भने, “कम्तीमा आफ्ना नियमित पाहुनालाई नयाँ वर्षकै अवसर पारेर होटलसम्म ल्याउने र रमाउने वातावरण सृजना गर्न खोजेका छौँ ।”

उनका अनुसार, नयाँ वर्षको अवसरमा साङ्गीतिक माहोलमा पारिवारिक वातावरण दिएर होटल स्टार लाइटले सहुलियत तर आकर्षक प्याकेज तयार गरेको छ । लागत मूल्यमा ‘लाइभ फुड’, ‘अनलिमिटेड स्न्क्याक्स’, ‘बुफे डिनर’सहित लोकप्रिय पपगायक सञ्जय श्रेष्ठ, लोकगायिका इब्सु सञ्ज्यालको देउडा सङ्गीत अनि ‘द स्याड ब्याण्ड’को लाइभ प्रस्तुति व्यवस्थापन गरिएको छ ।

म्यानेजर बुढाथोकीले आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थित बसाइसहित भिन्न र नयाँ प्रस्तुति होटल स्टार लाइटले दिन खोजेको उल्लेख गर्दै भने, “नयाँ पुस्तासँग पुरानो चर्चित ब्याण्ड तथा लोकप्रिय गायकलाई चिनाउन पनि हाम्रो कार्यक्रमले विशेष भूमिका खेल्नेछ ।” रासस

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update