काठमाडौँ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।
पुथा उत्तरगंगा गाउँपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा मंगलबार भएको सार्वजनिक समारोहमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनदहलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै विशेष गन्तव्यका रूपमा विकास गरिनै पर्ने बताएका छन् । उनले पूर्वाधार निर्माण, प्रभावकारी प्रचारप्रसार र समन्वयात्मक पहल आवश्यक रहेको समेत जोड दिए ।
कार्यक्रममा उनले सुनदहको वृत्तचित्रको प्रस्तुति र छायाङ्कनको प्रशंसा गर्दै भने ‘सुनदहको वास्तविक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।” उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र स्थानीय तहबिच सहकार्य बढाएर सुनदहको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
रुकुम पूर्वजस्तो हिमाली जिल्लामा पर्यटन विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य रहेको उल्लेख गरे । आगामी बजेटमार्फत पुराना योजनालाई निरन्तरता दिने र रुकुम पूर्वका पर्यटकीय गन्तव्यको प्रबद्र्धनका लागि बजेट व्यवस्थापनका लागि पहल गर्ने उनको भनाइ थियो ।
लुम्बिनी प्रदेश सांसद दिलकुमारी बुढाले सुनदहलाई स्वर्गबाट चोइटिएर खसेको टुक्राको संज्ञा दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई भ्रमण गर्न आग्रह गरिन् । उनले यसको प्रवर्द्धनमा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले सुनदहलाई विशिष्ट भौगोलिक विशेषता बोकेको गन्तव्य रुपमा उल्लेख गरे । उनले सुनदहसहित रुकुम पूर्वका पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ गर्नुपर्नेसमेत बताए ।
पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष वमबहादुर बुढाले स्वागत मन्तव्य दिँदै सुनदहको पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्न सरोकारवालाहरूसँग अनुरोध गरे ।
कार्यक्रमका अध्यक्ष तथा पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले सुनदहमा अपार पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए ।
समुद्री सतहबाट चार हजार ४३५ मिटर उचाइमा रहेको सुनदह प्राकृतिक, जैविक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्त्वपूर्ण स्थलका रूपमा चिनिन्छ । यहाँ रेड पान्डा, कस्तुरीलगायत दुर्लभ तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गी, यार्सागुम्बाजस्ता बहुमूल्य जडीबुटी पाइने भएकाले जैविक विविधताको दृष्टिले समेत यसको उच्च महत्त्व रहेको छ ।







