Khabar Out
ओझेलमा तनहुँको ऐतिहासिक सिद्ध गुफा

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको भिमाद चोकबाट करिब १० किलोमिटरको दुरीमा एउटा यस्तो प्राकृतिक आश्चर्य लुकेको छ, जसको बनावट सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। भिमाद नगरपालिका–९ धन्दुरस्थित सिद्ध गुफा नौ तले संरचनामा फैलिएको दाबी गरिए पनि उचित प्रचारप्रसार र पूर्वाधार अभावमा यो पर्यटकीय गन्तव्य अझै ओझेलमा परेको छ। ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको यस गुफालाई सरकारले देशका १०० पर्यटकीय गन्तव्यको सूचीमा राखे पनि अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन।

पछिल्लो समय नगरपालिकाले गुफा क्षेत्रको पूर्वाधार विकास र प्रवर्द्धनमा चासो देखाउन थालेको छ। नगर प्रमुख दधिराज सुवेदीका अनुसार यस गुफाको संरचना निकै विशिष्ट छ।

गुफाको प्रवेश मार्ग साँघुरो भएकाले निहुरिएर मात्रै भित्र पस्न सकिन्छ। प्रवेशद्वारबाट करिब ३० मिटर भित्र छिरेपछि पहिलो तला आउँछ, जहाँ १५० जनाभन्दा बढी मानिस सजिलै अटाउन सक्ने ठाउँ छ। यहाँबाट क्रमशः दोस्रो, तेस्रो हुँदै नवौँ तलासम्म्म गुफाको विस्तार भएको स्थानीय जानकारहरूको भनाइ छ।

गुफाको माथिल्लो तलासम्म पुग्न भने अहिले चुनौतीपूर्ण देखिएको छ। हाल तेस्रो तलासम्म्म पर्यटकहरू सजिलै पुग्न सक्छन्। तर चौथो तलामा जाने बाटोमा चुनढुङ्गा पग्लिएर मार्ग साँघुरो र जोखिमपूर्ण बनेकाले तत्कालका लागि माथि जान रोक लगाइएको छ।

नगर प्रमुख सुवेदीले आफ्ना अघिल्ला पुस्ताहरू नवौँ तलासम्म पुगेको अनुभव सुनाउने गरेको उल्लेख गर्दै आफू चौथो तलासम्म पुग्दा त्यहाँ ऐतिहासिक पुरातात्विक सामग्रीहरू देखेको बताए। उनका अनुसार चौथो तलामा तत्कालीन राजा सुरेन्द्रको पालामा काटिएका सिक्का र पैसा चढाउने तामाका भाँडाहरू जस्ता महत्वपूर्ण वस्तुहरू रहेका छन्।

जिदी खोलाको किनारमा रहेको जङ्गल क्षेत्रमा अवस्थित यस गुफाभित्र प्रकृतिका अनौठा कलाकृतिहरू देख्न सकिन्छ। गुफाभित्र ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुँड, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृतिहरू प्राकृतिक रूपमै बनेका छन्।

यसले गुफाको धार्मिक गरिमालाई समेत बढाएको छ। स्थानीय तेजबहादुर थापाका अनुसार प्रत्येक वर्ष साउन महिनामा यहाँ शिवको विशेष पूजा गरिन्छ। साथै स्थानीय बासिन्दाले बाली लगाउने र भित्र्याउने समयमा यहाँ नवान्न चढाउने परम्परा रहेको छ। चैते दसैँमा यहाँ विशेष मेला समेत लाग्ने गर्दछ।

सिद्ध गुफा विकास समितिका पूर्वउपाध्यक्ष बेलबहादुर थापाका अनुसार यो गुफाका बारेमा स्थानीय स्तरमा परापूर्व कालदेखि नै जानकारी भए पनि पर्यटकीय पूर्वाधार निर्माण र व्यवस्थित प्रचारको काम भने भर्खरै मात्र सुरु भएको हो। नगरपालिकाले यसलाई यस क्षेत्रको प्रमुख पर्यटकीय केन्द्र बनाउने लक्ष्य राखेको छ । रासस

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update