Khabar Out
मेची भन्सारबाट अलैँची निर्यातमा उल्लेख्य वृद्धि, चिया र अम्रिसोको व्यापार भने ओरालो

झापा । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यातमा ठुलो सुधार आएको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार विगत सात महिनाको अवधिमा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेर ८ अर्ब ६१ करोड २० लाख ७ हजार रुपैयाँ बराबरको पुगेको छ।

सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार यस अवधिमा कुल ४ हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची भारततर्फ निर्यात भएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ५ अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको मात्र अलैँची निर्यात भएको थियो ।

अलैँचीको व्यापार चम्किरहँदा नेपालको अर्को मुख्य निर्यातजन्य वस्तु चियाको व्यापारमा भने गिरावट आएको छ। तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म चिया निर्यात २६ दशमलव ७० प्रतिशतले घटेको देखिन्छ। यस अवधिमा २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको मात्र चिया निर्यात भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार रुपैयाँ बराबरको चिया बाहिरिएको थियो। 

चियासँगै प्लाउड निर्यातमा ४० दशमलव ९० प्रतिशत र अम्रिसो निर्यातमा २४ दशमलव ९० प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ।

मेची भन्सारबाट निर्यात हुने अन्य वस्तुहरूको अवस्था भने उत्साहजनक देखिएको छ। यस अवधिमा मुसुरो दालको निर्यातमा ३१६ दशमलव २० प्रतिशतको विशाल वृद्धि भएको छ। त्यस्तै अदुवा र सुठोको निर्यात १०१ दशमलव ८० प्रतिशत, जडीबुटी ९२ दशमलव ९ प्रतिशत र भेनियर सिट ९१ दशमलव १० प्रतिशतले बढेको छ। 

अन्य निर्यातजन्य वस्तुहरूमा छुर्पी ६३ दशमलव ३० प्रतिशत र काउली, ब्रोकाउली तथा बन्दागोपी ३६ दशमलव १० प्रतिशतले वृद्धि भएका छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्म मेची भन्सारबाट कुल १६ अर्ब ३ करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको नेपाली मालवस्तु विभिन्न देशमा निर्यात भएको छ । रासस

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update