Khabar Out
एआई नीतिबारे छलफल गर्दै ईयू नेता

काठमाडाैँ । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै त्यसबाट प्राप्त हुने अवसर उपयोग र सम्भावित जोखिम न्यूनीकरण गर्ने नीति तय गर्न युरोपेली सङ्घ (ईयू) का नेताहरूले शुक्रबार पहिलोपटक डब्लिनमा छलफल गर्दैछन्।

चीन र अमेरिकासँगको प्रविधिगत प्रतिस्पर्धामा अघि बढ्न युरोपमै एआई विकासलाई प्रोत्साहन गर्ने तथा नागरिक र व्यवसायलाई सम्भावित जोखिमबाट जोगाउने विषय बैठकको मुख्य एजेन्डा रहनेछ। छलफलमा फ्रान्सेली एआई कम्पनी मिस्ट्रलका प्रमुख आर्थर मेन्श र नोबेल पुरस्कार विजेता अनुसन्धानकर्ता जेफ्री हिन्टन सहभागी हुनेछन्।

एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङसँग जोडिएको विवादका कारण एआई क्षेत्रको सुरक्षा विषयले पनि बैठकमा स्थान पाउन सक्ने इयुका एक अधिकारीले बताएका छन्। एनभिडिया औपचारिक कार्यसूचीमा नरहे पनि नेताहरूले त्यसबारे छलफल गर्न चाहेमा रोक नलगाइने उनको भनाइ छ ।

बैठकअघि एस्टोनिया र फिनल्यान्डले गम्भीर एआई घटनाको सामना गर्न इयुस्तरको व्यवस्था आवश्यक रहेको बताएका छन्। एस्टोनियाका प्रधानमन्त्री क्रिस्टेन मिचालले विगतमा जीवाश्म इन्धन र महत्त्वपूर्ण खनिजका लागि बाह्य मुलुकमाथि निर्भर हुनुपरेको अवस्थाबाट पाठ सिक्दै नयाँ प्रविधिमा लगानी गर्नुपर्ने बताए।

मिस्ट्रलका प्रमुख मेन्शले युरोपमै उन्नत एआई विकास गर्नुपर्नेमा जोड दिँदै आएका छन्। गुगलका पूर्वअनुसन्धानकर्ता हिन्टनले भने एआईबाट रोजगारी, नागरिक अधिकार र सुरक्षामा पर्न सक्ने प्रभावबारे छलफल गर्नेछन्। उनी र कम्प्युटर वैज्ञानिक योशुआ बेङ्गियोले च्याटजिपिटी सार्वजनिक भएपछि एआईका सम्भावित जोखिमबारे चेतावनी दिएका थिए।

सेन्टर फर युरोपियन रिफर्मका अनुसन्धानकर्ता जेम्स ग्रीनले युरोपलाई एआईसम्बन्धी स्पष्ट रणनीति आवश्यक रहेको बताए। उनले व्यावसायिक वातावरण सुधार, उन्नत प्रविधिमा पहुँच, जिम्मेवार प्रयोग तथा सम्भावित हानि कम गर्न नियमन र अन्तर्राष्ट्रिय साझेदारीमा जोड दिए । रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update