कञ्चनपुर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवागमन रोकिएपछि पुल वारिपारिका होटल व्यवसाय धराशायी बनेका छन् ।
गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुलमा क्षति पुर्याएपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन घट्दै गएको छ ।
“पुलको एउटा पिल्लर भत्किएपछि हाम्रो त मुखमै ताला लगाएजस्तो भयो”, होटल व्यवसायी मोहनबहादुर सिंहले भने, “स्थानीय प्रशासनले पुलको दुवैतर्फ ताला लगाएको छ । हिँडडुल पूर्ण रूपमा बन्द हुँदा व्यापार व्यवसाय धराशायी बन्यो ।”
पुल भत्किएपछि आएको प्राविधिक टोलीले पुल निर्माणमा रु २० करोड लागत लाग्नुका साथै निर्माण सम्पन्न गर्न एक वर्ष लाग्ने अनुमानसहितको प्रतिवेदन पेस गरेको छ ।
“दसैँतिहारका बेला यहाँ पर्यटकको आवागमन धेरै हुँदा हाम्रो पनि वर्षभरिको कमाइ यही बेला हुन्थ्यो”, सिंहले भने, “अझै पनि चार लेनको पुल हुँदै झोलुङ्गे पुल हेर्न आउँछन् तर हेर्ने वातावरण तयार भएको छैन ।” दूरीका हिसाबले छोटो पर्ने भएकाले दुईपाङ्ग्रे सवारीसाधन र दोधारा चाँदनीका स्थानीयले पैदलयात्राका लागि झोलुङ्गे पुल प्रयोग गर्ने गरेका थिए
“महाकाली नदीमा पानी घटिसक्यो । अब त सरकारले पुल बनाउन थालनी गरिदिए हुन्थ्यो”, सिंहले भने, “पुल नबन्दासम्म वारिपारिका व्यवसायी निराश छन् । दैनिक रु आठ–दश हजार कमाइ हुन्थ्यो । अहिले त ठप्प भयो ।”
त्यसैगरी भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामचन्द्र बोहराले चाडपर्वका बेला भरिभराउ हुने झोलुङ्गे पुल यसपटक सुनसान रहेको बताए । “दसैँतिहारका बेला दैनिक दुईदेखि तीन हजार पर्यटक यहाँ अवलोकनका लागि आउँथे”, उनले भने ।
वडाध्यक्ष बोहराका अनुसार हिउँदका बेला शैक्षिक भ्रमणले यो क्षेत्रको व्यापार व्यवसाय राम्रै हुने गरेको थियो । पुल बन्द अवस्थामा रहँदा यसको प्रभाव धेरै क्षेत्रमा परेको छ । उनले पुल पुनर्निर्माणका लागि तत्काल पहल हुनुपर्नेमा जोड दिए ।
“पुल भत्किएका बेला अवस्था बुझ्न जनप्रतिनिधिदेखि राजनीतिज्ञसम्म यहाँ आउनुभयो”, बोहराले भने, “तर स्थलगत रूपमा पुल पुनर्निर्माणको कुनै सुरसार देखिएको छैन ।” पुल पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु एक करोड विनियोजन गरेको छ ।
यता कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले पुल पुनर्निर्माण तत्काल अघि बढाउनुपर्ने बताए । उनका अनुसार दोधारा चाँदनी पुल आवागमन सहजताका लागि मात्रै नभएर कञ्चनपुरको पर्यटकीयस्थलका रूपमा समेत परिचित छ ।
“पुल समयमा नबने यहाँ पर्यटक आवागमनसमेत घट्ने अवस्था छ”, अध्यक्ष मल्लले भने, “पर्यटन प्रवर्द्धनका लागि पनि पुल पुनर्निर्माण छिटो हुनु आवश्यक छ ।” रासस







