Khabar Out
तातोपानी गाउँपालिकाद्वारा आगलागी पीडित परिवारलाई राहत वितरण

जुम्ला । जुम्लाको तातापानी गाउँपालिकाद्वारा आगलागी पीडित परिवारलाई राहत प्रदान गरेको छ । जिल्लाको तातोपानी गाउँपालिका–८ स्थित बङ्तडी गाउँका आगलागी पीडितलाई उक्त गाउँपालिकाले राहत सहयोग वितरण गरेको हो ।

आगलागीबाट पूर्ण घर जलेर घरविहीन भएका सो वडाका आगलागी पीडित सन्देशकुमार शाहीको परिवारलाई राहत सहयोग गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाइँले जानकारी दिए ।

दैनिक छाक टार्नेसम्मका वस्तु नजोगिएका पीडितलाई पहिलो आवश्यकता गाँस, बास र कपासका लागि सामग्री प्रदान गरिएको छ । राहत स्वरूप चामल, पीठो, चिउरा, तेल, पाल, मसला, कम्बल, बाल्टिन र पीडित परिवारका सदस्यलाई लगाउने लत्ताकपडा जग लगायतका सामग्री सहयोग गरिएको गाउँपालिका अध्यक्ष चौलागाइँको भनाइ छ ।

साथै खाना पकाउने ग्यास उपलब्ध गराइएको छ । बिहीबार राति करिब १० बजेतिर घरमा आगो लागेको थियो । उक्त समयमा घरमा कोही पनि नभएकाले मानवीय क्षति हुनबाट बचेको अध्यक्ष चौलागाइँले जानकारी दिए ।

आगलागीबाट नौ कोठे घर पूर्णरूपमा नष्ट भएको छ । घरभित्र रहेका लत्ताकपडा, गरगहना तथा नगद रकमसमेत जलेको पीडित सन्देशकुमार शाहीले बताए । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update