Khabar Out
मोटरसाइकलमा आएका बन्दुकधारीको आक्रमणमा ५० भन्दा बढीको मृत्यु

काठमाडौँ । नाइजेरियाको उत्तर–पश्चिमस्थित जाम्फारा राज्यमा मोटरसाइकलमा आएका बन्दुकधारीहरूले एक गाउँमा रातभर आक्रमण गर्दा कम्तीमा ५० जनाको ज्यान गएको छ भने महिला र बालबालिका अपहरणमा परेका छन् ।

अधिकारी र स्थानीय बासिन्दाका अनुसार बिहीबार राति सुरु भएको आक्रमण शुक्रबार बिहानसम्म जारी रह्यो । बुक्कुयुम क्षेत्रअन्तर्गत टुंगन डुत्से गाउँमा ठुलो संख्यामा मोटरसाइकलमा सवार सशस्त्र समूह पुगेका थिए । उनीहरूले घरहरूमा आगजनी गर्दै सर्वसाधारणमाथि अन्धाधुन्ध गोली चलाएका थिए ।

बुक्कुयुम दक्षिणका सांसद हमिसु ए । फारुले आक्रमणकारीहरू एक गाउँबाट अर्को गाउँतर्फ सर्दै गएको र हालसम्म कम्तीमा ५० जनाको मृत्यु भएको जानकारी दिएका छन् । अपहरणमा परेकाहरूको यकिन संख्या अझै स्पष्ट नभएको र हराइरहेका व्यक्तिहरूको विवरण संकलन भइरहेको जनाइएको छ ।

४१ वर्षीय स्थानीय बासिन्दा अब्दुल्लाही सानीका अनुसार आक्रमण हुनुभन्दा एक दिनअघि नै गाउँलेहरूले ठूलो संख्यामा सशस्त्र व्यक्ति मोटरसाइकलमा देखेपछि सुरक्षा निकायलाई खबर गरेका थिए । तर कुनै कदम नचालिएको उनको भनाइ छ । 'हिजो राति कसैले पनि निदाउन सकेनौँ, हामी सबै पीडामा छौँ,' उनले बताए । उनका परिवारका तीन सदस्यको आक्रमणमा मृत्यु भएको छ ।

नाइजेरियाको उत्तर र पश्चिम क्षेत्र पछिल्लो समय सशस्त्र आपराधिक समूह तथा विद्रोही लडाकुहरूको दोहोरो सुरक्षा चुनौतीसँग जुधिरहेको छ । गत साता मात्रै उत्तर–पश्चिमस्थित नाइजर राज्यको बोरगु क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ४६ जनाको ज्यान गएको थियो । त्यसमध्ये कन्कोसो गाउँमा मात्रै ३८ जनालाई गोली हानी वा घाँटी रेटेर हत्या गरिएको विवरण सार्वजनिक भएको थियो ।

यसैबीच, नाइजेरियाले सुरक्षा सहकार्य विस्तार गर्दै संयुक्त राज्य अमेरिकासँग सहकार्य बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ख्रीष्टियन समुदायमाथि भइरहेका हत्याकाण्ड रोक्न नसकेको आरोप लगाउँदै सैन्य हस्तक्षेपको चेतावनी दिएपछि दुई देशबीच सहकार्य तीव्र बनेको हो ।

गत डिसेम्बर २५ मा अमेरिकाले नाइजेरियाली निकायसँगको समन्वयमा उत्तरस्थित सोकोटो राज्यमा हवाई आक्रमण गरेको थियो । यसै साता नाइजेरियाली सेनाले स्थानीय सुरक्षाबललाई तालिम दिन १०० अमेरिकी सैनिक देशमा आइपुगेको पुष्टि गरेको छ ।

नाइजेरियाको रक्षा मुख्यालयका प्रवक्ताका अनुसार अमेरिकी सैनिकहरूले प्राविधिक सहयोग र सूचना आदान–प्रदान गर्नेछन् । उनीहरूले प्रत्यक्ष युद्धमा संलग्न नहुने तर नाइजेरियाली नेतृत्वअन्तर्गत प्राविधिक विशेषज्ञता उपलब्ध गराउने स्पष्ट पारिएको छ । रासस

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update