Khabar Out
पश्चिमी टर्कीको स्टिल कारखानामा विस्फोट, तीन जनाको मृत्यु

काठमाडाैँ । पश्चिमी टर्कीको एक फलाम तथा स्टिल कारखानामा सोमबार भएको विस्फोट र त्यसपछिको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ भने १० जना कामदार बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्।

इज्मिर प्रान्तको आलियागास्थित ‘हाबास’ कारखानामा भएको घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रान्तीय गभर्नरको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । भग्नावशेषमा फसेका १० जनाको खोजी भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रसारक संस्था ‘एनटिभी’ले कारखानामा लागेको ठूलो आगो र आकाशमा उठिरहेको धुवाँको मुस्लो देखिने दृश्य प्रसारण गरेको छ।

प्रत्यक्षदर्शी नुरी अली उल्करलाई उद्धृत गर्दै सरकारी समाचार संस्था ‘आनादोलु’ले जनाएअनुसार विस्फोट यति शक्तिशाली थियो कि जमिन नै हल्लिएको थियो।

आन्तरिक मामिलामन्त्री मुस्तफा सिफ्टचीले आपत्कालीन उद्धार टोलीले आगो नियन्त्रणमा लिनुका साथै प्रभावित कामदारहरूको खोजी गरिरहेको बताए। उनले सामाजिक सञ्जालमा घाइतेहरूलाई अस्पताल पुर्‍याइएको र उनीहरूको स्वास्थ्य अवस्थाबारे निगरानी भइरहेको उल्लेख गरे।

गभर्नरको कार्यालयका अनुसार सोमबार दिउँसो तरल स्टिल ढाल्ने क्रममा माथि रहेको क्रेन भट्टीभित्र खसेपछि विस्फोट भएको हो। घटनाबारे अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ।

आलियागा ठुलो बन्दरगाहका साथै पुराना जहाज भत्काउने उद्योगका लागि पनि परिचित छ। यस क्षेत्रमा सञ्चालित जहाज भत्काउने उद्योगले वातावरणमा गम्भीर असर पुर्‍याएको भन्दै आलोचना हुँदै आएको छ । युरोपेली सङ्घको जहाज पुनर्चक्रण सुविधासम्बन्धी सूचीबाट यहाँका जहाज भत्काउने केन्द्रहरू हटाउनुपर्ने मागसमेत उठ्दै आएको छ ।

यो घटना विश्व नेताहरू तथा वातावरण अभियन्ताहरू जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी वार्ताका लागि टर्कीको भूमध्यसागरीय तटीय सहर अन्टाल्यामा भेला भएका बेला भएको हो । रासस

कम्पनीको वेबसाइटका अनुसार सन् १९८७ मा स्थापना भएको हाबास कारखानाको वार्षिक स्टिल उत्पादन क्षमता ४५ लाख टन रहेको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update