Khabar Out
इरानसँग युद्ध फेरि सुरु हुने सम्भावना अत्यन्त कम छ : ट्रम्प

न्युयोर्क ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध पुनः सुरु हुने सम्भावना अत्यन्त कम रहेको बताएका छन् । तर इरानले अमेरिकासँग भरपर्दो र बलियो सम्झौतामा हस्ताक्षर नगरे आवश्यक परे पुनः आक्रमण गर्ने चेतावनी उनले दिएका छन् ।

आइतबार सीएनएनसँगको अन्तर्वार्तामा ट्रम्पले इरानसँग फेरि युद्ध हुने सम्भावना ‘अत्यन्त कम’ रहेको बताएका हुन् । उनले भने, ‘यो अत्यन्त असम्भव छ । तर उनीहरूले भरपर्दो र बलियो सम्झौतामा हस्ताक्षर गर्छन् कि गर्दैनन् भन्नेमा निर्भर गर्छ ।’

केही सातायता ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने चेतावनी दिँदै आएका थिए । अमेरिकी सञ्चारमाध्यमहरूले गत मङ्गलबार भएको मध्यावधि निर्वाचनपछि इरानसँग पुनः सैन्य द्वन्द्व सुरु हुन सक्ने आकलन गरेका थिए ।

ट्रम्पले आवश्यक परे इरानमाथि पुनः आक्रमण गर्न अमेरिका तयार रहेको पनि बताएका छन् । ‘हामीले उनीहरूलाई निकै कडा प्रहार गरेका छौँ । आवश्यक परे फेरि आक्रमण गर्नेछौँ,’ उनले भने ।

ट्रम्पले इरानमाथिको आर्थिक दबाबले त्यहाँको नेतृत्वलाई अमेरिकी सर्त स्वीकार गर्न बाध्य पार्ने दाबीसमेत गरेका छन् । इरान आर्थिक रूपमा कमजोर बन्दै गएको उल्लेख गर्दै उनले इरान असफल राष्ट्र बनेको टिप्पणी गरे ।

इरानको मुद्रास्फीति यस वर्ष ३०१ प्रतिशत पुगेको ट्रम्पको दाबी छ । यद्यपि, इरानका आधिकारिक तथ्याङ्कअनुसार सेप्टेम्बरमा वार्षिक मुद्रास्फीति करिब ९० प्रतिशत पुगेको थियो ।

यसैबीच, ट्रम्पले सोमबार कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग ह्वाइट हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले अमेरिकी संसद् (कंग्रेस) को नियन्त्रण गुमाएपछि ट्रम्पले विदेशी नेतासँग गर्न लागेको यो पहिलो भेट हो ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले भने अमेरिकी मध्यावधि निर्वाचनको परिणामपछि शान्ति वार्ता रोकिएको बताएका छन् । आइतबार सरकारी टेलिभिजनसँग कुरा गर्दै उनले निर्वाचनको नतिजाले सबैलाई झट्का दिएको र त्यसको राजनीतिक प्रभाव मूल्याङ्कन भइरहेको बताए ।

उनले मध्यस्थकर्ताहरूको पछिल्ला केही दिनमा कुनै भ्रमण नभएको उल्लेख गर्दै निर्वाचनको परिणामबारे अमेरिकाले कस्तो धारणा बनाउँछ भन्ने प्रतीक्षामा रहेको बताए ।

सोमबार सामाजिक सञ्जाल एक्समा लेख्दै अराघचीले अमेरिकी राष्ट्रपति ट्रम्पले अधिकांश अमेरिकी नागरिक इजरायलप्रति असन्तुष्ट रहेको बुझेको दाबी गरेका छन् । इजरायलले अमेरिकी प्रशासनलाई निरन्तर युद्धमा फसाएको भन्दै अमेरिकी नागरिक दिक्क भएको उनको भनाइ छ ।

यसैबीच, हर्मुज जलडमरूस्थित केश्म टापुमा आइतबार राति आक्रमण भएको इरानी सरकारी टेलिभिजनले जनाएको छ । यसअघि इरानको सरकारी समाचार संस्था आइआरएनएले त्यहाँ दुईवटा विस्फोट भएको समाचार सार्वजनिक गरेको थियो ।

कतार र पाकिस्तानसहित विभिन्न क्षेत्रीय शक्तिहरूले महिनौँदेखि युद्ध अन्त्यका लागि मध्यस्थता प्रयास गरिरहेका छन् । तर, त्यसमा सफलता मिल्न सकेको छैन ।

हाल प्रत्यक्ष सैन्य गतिविधि लगभग रोकिएको भए पनि तनाव कायमै छ । इरानले विश्व ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिने हर्मुज जलडमरूमा नाकाबन्दी गर्ने प्रयास जारी राखेको छ भने अमेरिकी नौसेनाले इरानी बन्दरगाहमा प्रतिनाकाबन्दी कायम राखेको छ । रासस

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update