काठमाडौं । बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
डा. पूर्णप्रसाद मानन्धरको प्रमुख आतिथ्यतामा स्वयम्भूस्थित ब्राका गुम्बामा आयोजित साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक विवरण तथा भावी कार्यक्रम पारित गर्दै सम्पन्न भएको हो ।
साधारणसभामा संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष ध्रुवप्रसाद खनालले सहकारिताको भावना, मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै संस्था सदस्यहरूको आर्थिक तथा सामाजिक हितका लागि निरन्तर क्रियाशील रहेको बताए । सहकारीले उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्दै सदस्यहरूको आर्थिक अवस्था सुधार, उद्यमशीलताको विकास र सामाजिक उत्थानमा योगदान पुर्याउँदै आएको उनको भनाइ थियो ।
अध्यक्ष खनालले संस्थामा सदस्यहरूबाट संकलित बचत तथा सेयर रकमलाई उत्पादनशील र व्यावसायिक क्षेत्रमा परिचालन गर्दै आएको जानकारी दिए । सदस्यहरूलाई उद्योग तथा व्यवसाय सञ्चालन गर्न आवश्यकताअनुसार ऋण उपलब्ध गराउनुका साथै बचतकर्ताको रकम फिर्ता गर्न पर्याप्त तरलता कायम राखिएको उनले बताए । सहकारीको मुख्य उद्देश्य सदस्यहरूको आर्थिक सुरक्षासँगै आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धन गर्नु रहेको उनको भनाइ थियो ।
शिक्षा र सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै अध्यक्ष खनालले विभिन्न सरकारी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिए । गत भदौ १० गते भोटेकोशी बाढाीपिडितलाई पनि संस्थाले सहयोग गरेको सहकारीले आर्थिक कारोबारमा मात्र सीमित नभई शिक्षा, सामाजिक सेवा र समुदायको विकासमा समेत आफ्नो भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
नेपालमा रहेका करिब ३३ हजार सहकारी संस्थामध्ये केही ठूला सहकारीमा समस्या देखिए पनि सहकारी ऐन, नियम र प्रचलित व्यवस्थाअनुसार सञ्चालन भइरहेका अधिकांश सहकारी संस्थामा त्यस्तो समस्या नरहेको अध्यक्ष खनालले बताए । सहकारी क्षेत्रप्रति पछिल्लो समय देखिएको अविश्वासलाई चिर्न पारदर्शिता, जवाफदेहिता र सदस्यकेन्द्रित सेवामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
‘बहुआयामिक सहकारीको सपना, तपाईं हाम्रो सुनौलो भविष्यको स्थापना’ भन्ने नाराका साथ सम्पन्न साधारणसभामा संस्थाको प्रगति, आर्थिक अवस्था, आगामी योजना तथा सदस्यहरूलाई उपलब्ध गराइँदै आएका सेवाका विषयमा समेत छलफल गरिएको थियो । सो अवसरमा संस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व तथा सदस्यहरूलाई सम्मानसमेत गरेको थियो ।
त्यसैगरी कार्यक्रममा ज्येष्ठ नागरिक, एकल महिला, उत्कृष्ट महिला समूह तथा सहकारीका उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । संस्थामा आबद्ध सदस्यहरूको योगदानको कदर गर्दै उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
सहकारी क्षेत्रप्रति विश्वासको संकट देखिएको वर्तमान अवस्थामा पनि सदस्यहरूको विश्वास कायम राख्न सफल भएको संस्थाले जनाएको छ । संस्थाले सदस्यहरूको सेयर लगानीका आधारमा स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ। संस्थाका अनुसार ३५ हजार रुपैयाँसम्म सेयर भएका सदस्यको ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा तथा तीन लाख रुपैयाँभन्दा बढी सेयर भएका सदस्यको एक लाख रुपैयाँ बराबरको बीमा गरिँदै आएको छ। यसबाट सदस्यहरूको स्वास्थ्य सुरक्षामा समेत सहयोग पुग्ने संस्थाको विश्वास छ ।
वि.सं. २०६५ सालमा ५१ जना सदस्यबाट स्थापना भएको बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्थामा हाल एक हजार ७२१ जनाभन्दा बढी सेयर सदस्य आबद्ध भइसकेका छन् । स्थापनाकालदेखि नै सदस्यहरूको बचत संकलन, ऋण लगानी तथा आर्थिक गतिविधिलाई व्यवस्थित गर्दै आएको संस्थाले आगामी दिनमा सेयर पूँजी वृद्धि र संस्थागत क्षमता विस्तारलाई प्राथमिकतामा राखेको छ ।
संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा सेयर पूँजी चार करोड रुपैयाँ पुर्याउने लक्ष्यसमेत लिएको छ । उक्त लक्ष्य प्राप्तिका लागि सदस्य संख्या वृद्धि, सेयर सदस्यको सक्रिय सहभागिता, बचत परिचालन तथा उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्ने योजना रहेको जनाएको छ ।
त्यसैगरी, प्रविधिमैत्री सहकारी सेवा विस्तार गर्ने उद्देश्यले संस्थाले ‘बहुआयामिक मोफिन एप’ (Bahu Aayamik Mofin App) सञ्चालनमा ल्याएको छ । उक्त एपमार्फत सदस्यहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आफ्नो कारोबारको विवरण तथा स्टेटमेन्ट हेर्न सकिने सुविधासहित डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। साथै कनेक्ट आईपीएस, फोनपे तथा क्यूआर पेमेन्टजस्ता डिजिटल भुक्तानी प्रणालीसमेत सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।
डिजिटल प्रविधिको प्रयोगले सदस्यहरूलाई सहज, सरल र छिटो रूपमा वित्तीय कारोबार गर्न सहयोग पुग्ने विश्वास संस्थाले लिएको छ । यसले सहकारीको सेवा प्रवाहलाई आधुनिक, पारदर्शी र प्रभावकारी बनाउनसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
स्थापनाकालदेखि सदस्यहरूको विश्वास, सहभागिता र सहकार्यलाई संस्थाको मुख्य आधार बनाउँदै अघि बढिरहेको बहुआयामिक कृषि बचत तथा ऋण सहकारीले आगामी दिनमा पनि सहकारिताको मूल मर्मअनुसार सदस्यहरूको आर्थिक समृद्धि, सामाजिक विकास, उद्यमशीलता प्रवर्द्धन र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।







