Khabar Out
फिलिपिन्समा भारी वर्षाका कारण पहिरो, सात जनाको मृत्यु

फिलिपिन्स । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो र डाभाओ ओरिएन्टल प्रान्तमा भारी वर्षाका कारण आएको पहिरोमा परि कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

फिलिपिन्स रेड क्रसले दाभाओ डे ओरो प्रान्तको मोन्कायो सहर स्थित प्रभावित क्षेत्रबाट तीन जनाको शव बरामद गरेको बताएको छ ।

स्थानीय बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न अधिकारीहरूले प्रभावित क्षेत्रको मूल्याङ्कन अवलोकन जारी राखेको फिलिपिन्स रेडक्रसका अध्यक्ष र प्रमुख कार्यकारी अधिकारी रिचर्ड गोर्डनले सामाजिक सञ्जाल मार्फत जनाएका छन् । 

शुक्रबार डाभाओ ओरिएन्टलको माटी सहरमा आएको पहिरोले एउटै परिवारका चार जनाको मृत्यु भएको सहरको फायर स्टेसनले सामाजिक सञ्जाल मार्फत जनाएको छ ।

निरन्तर अनुगमन र द्रुत प्रतिक्रिया सञ्चालनका साथ प्रभावित प्रान्तहरूमा रेडक्रस शाखाहरू उच्च सतर्कतामा रहेको गोर्डनले बताएका छन् ।

सुरिगाओ डेल सुर प्रान्तको बिस्लिग सहरका समुदायहरूमा पानी पसेकाले स्वयंसेवकहरूले प्रभावित परिवारलाई सुरक्षित क्षेत्रमा सर्न सहयोग गरेको जनाइएको छ ।

अधिकारीहरूले क्षतिको आकलन र प्रभावितहरूको सुरक्षा सुनिश्चितको प्रयास जारी राखेका कारण स्थानीय विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यालयहरूसँग अनुगमन र समन्वय जारी रहेको रेड क्रसले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update