Khabar Out
खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरी पालन प्रवर्द्धन गर्ने उद्देश्यले अनुदानमा मौरीसहितका घार वितरण गरेको छ ।

आत्मनिर्भर बनाउने उद्देश्यले खाँदबारी नगरपालिकाभित्रका कृषकलाई घारसहितका मौरी वितरण गरिएको छ । कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरी पालन प्रवर्द्धन गर्ने उद्देश्यले खाँदबारी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीसहितका घार वितरण गरेको हो । एक कार्यक्रमबिच नगरपालिकाले ९० मौरीसहितका घार कृषक समूह तथा कृषकलाई हस्तान्तरण गरेको खाँदबारी नगरपालिका नगरप्रमुख महेश थपलियाले बताए । मौरीपालनलाई वैकल्पिक मात्र नभई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्न नगरपालिकाले मौरीसहितका घार वितरण गरेको उनको भनाइ छ ।

नगरपालिकाले मौरी प्रवर्द्धन अन्तर्गत प्रतिघार रु १० हजार ८०० लागतमा कृषकलाई मौरीसहितका घार उपलब्ध गराइएको हो । कृषकले ५० प्रतिशत मात्र व्यहोर्नु परेको छ । बाँकी रकम नगरपालिकाले अनुदान स्वरूप उपलब्ध गराएको हो यो कार्यक्रमबाट विशेष गरी साना तथा मझौला कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । आर्थिक वर्ष २०८२/८३ मा मौरी पालन प्रवर्द्धन कार्यक्रमका लागि नगर सभाबाट रु ६ लाख विनियोजन भएको र बाँकी रहेको रकमले मौरीपालक कृषकलाई तालिम प्रदान गरिने कृषि शाखाले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update