काठमाडौँ । इरानमा गत महिनादेखि जारी राष्ट्रव्यापी विरोध प्रदर्शनमा सरकारी दमनका क्रममा कम्तीमा सात हजार पाँच जनाको मृत्यु भएको मानवअधिकारकर्मीहरूले बिहीबार बताएका छन् । अझै धेरैको मृत्युको डर कायमै रहेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरी इरानमाथि थप दबाब दिन प्रयास गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेखे,“वार्तामा अहिलेसम्म निश्चित निर्णय भएन । मैले भनेको कुरा केवल वार्ता जारी राखेर सम्झौता सम्भव छ कि छैन हेर्नु हो । अघिल्लो पटक इरानले सम्झौता नगरेको थियो र त्यसको परिणाम भोग्नु परेको थियो । आशा छ, यस पटक उहाँहरू जिम्मेवार र व्यावहारिक हुनेछन् ।”
ट्रम्पले पत्रकारहरूसँग भने, “इरानले छिट्टै संयुक्त राज्यसँग सम्झौता गर्नु पर्छ । म अनुमान गर्छु, अर्को एक महिनाभित्र केही नतिजा आउला ।”
इरानभित्र विरोध प्रदर्शन र दमनप्रति जनता अझै आक्रोशित छन् । मृतक परिवारहरूले परम्परागत ४० दिने शोक पालन सुरु गर्दा आक्रोश अझ बढ्ने अनुमान गरिएको छ ।
मृतकको सङ्ख्या बढ्दै
संयुक्त राज्यस्थित ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सीले सात हजार पाँच जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ, जसमा २१४ जना सुरक्षा बलसमेत छन् । इरानी सरकारले २१ जनवरीमा मात्र तीन हजार ११७ मृतक भएको विवरण सार्वजनिक गरेको थियो । विगतमा इरानी धर्मशासनले अशान्तिका मृतक कम देखाउने वा रिपोर्ट नगर्ने गरेको इतिहास छ ।
वार्ता र कूटनीति
वरिष्ठ इरानी सुरक्षा अधिकारी अली लारीजानीले कतारमा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमन अल थानीसँग भेटवार्ता गर्नुभएको छ । उहाँ ओमानमा तेहरान समर्थित हुथी विद्रोही र प्यालेस्टिनी हमास समूहसँग पनि भेटवार्ता गर्नुभएका थिए । संयुक्त राज्यले अमेरिकी विमानवाहक पोत, युद्धपोत र विमानहरू मध्यपूर्व पठाएर इरानमाथि दबाब बढाएको छ ।
नोबेल शान्ति पुरस्कार विजेतामाथि चिन्ता
नोर्वेजियन नोबेल समितिले २०२३ का शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदीको क्रूर हिरासत र शारीरिक दमन अवस्थाबारे गहिरो खेद व्यक्त गरेको छ । मोहम्मदी हाल सात वर्ष थप जेल सजाय भोग्दै छन् । समितिले उनको तुरुन्त र सर्तबिना रिहाइको माग गरेको छ । रासस





