Khabar Out
मौलिक परिकारको प्रवर्द्धन गर्न रैथाने महोत्सव

झापा। मेचीनगर–१० स्थित धुलाबारीमा मौलिक खानाको प्रवर्द्धन र जगेर्ना गर्ने उद्देश्यले तीन दिवसीय रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव सञ्चालन भएको छ ।

नन्दा करिडर प्रवर्द्धन केन्द्रको आयोजनामा माघ १५ गतेदेखि सुरु भएको महोत्सवमा ३० हजारभन्दा बढी अवलोकनकर्ताले स्थानीय समुदायको रैथाने परिकारको स्वाद चाखेको आयोजक समितिका अध्यक्ष धमेन्द्र खड्काले बताए ।

पर्यटकीय महत्वको नन्दा करिडरमा आज समापन भएको महोत्सवमा नेवार, राई, धिमाल, दनुवार, किसान र मेचे समुदायका परम्परागत तथा रैथाने खानाका परिकार र सांस्कृतिक झाँकीहरू प्रदर्शनी गरिएका थिए ।

विभिन्न जातजातिको मौलिक पहिचान, संस्कार र संस्कृति झल्काउने चित्रकलासमेत उत्सवमा प्रदर्शन गरिएको र महोत्सवलाई मेचीनगर नगरपालिका र पर्यटन कार्यालय काँकरभिट्टाले सहयोग पुर्याएको उनले जानकारी दिए ।

हरेक वर्ष उक्त स्थानमा रैथाने खानाको संरक्षण, प्रचार र जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिँदै आएको छ । पर्यटकीय पूर्वीद्वार मेचीनगरमा सयौँ जातजातिको बसोबास छ । रैथाने खानाको महोत्सवले मौलिक पहिचान र परम्परालाई संवर्द्धन गर्न मद्दत पुगेको मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले बताए ।

पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडाले महोत्सवले पर्यटकीय चहलपहल बढाएको र नयाँ पुस्तालाई आफ्नो परम्परागत खानपानसँग परिचित गराउने अवसर प्रदान गरेको बताए ।

मेचीनगरमा पहाडी र तराई मूलका सयौँ जातजातिको मिश्रित बसोबास छ । आदिवासी जनजाति मेचे समुदायको ऐतिहासिक बसोबास रहेको मेचीनगरमा धिमाल, दनुवार, राजवंशी, सन्थाल र किसानजस्ता अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको ठुलो हिस्साको बसोबास छ ।

महोत्सवमा स्थानीय प्रमुख रैथाने परिकारहरू घोँगी, भक्का, योमरी, छोयला, कचिला, किनेमा, सेलरोटी, पेलका, माछाका परिकार, गँगटा, कन्दमूलका परिकार, ढिँडो, गुन्द्रुक, कोदोको रोटीलगायत विभिन्न परिकार बिक्रीका लागि स्टलमा राखिएका थिए । रासस

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update