Khabar Out
कास्की कारागारबाट भागेका एक सय ६० कैदीबन्दी अझै फरार

कास्की । गत भदौ २४ गतेको 'जेनजी प्रदर्शन' का क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दी मध्ये १६० जना अझै सम्पर्क बाहिर रहेका छन्। कारागार प्रशासनका अनुसार फरार हुनेहरूमा ९ महिला र १५१ पुरुष छन्। जसमा ११ भारतीय र २ चिनियाँ गरी १३ जना विदेशी नागरिक समेत रहेको कारागार प्रशासक राजेन्द्र शर्माले जानकारी दिए।

आन्दोलनका क्रममा कारागारको बन्दीगृह तोडेर ७७३ जना कैदीबन्दी भागेका थिए। तीमध्ये अधिकांश तोकिएको समयभित्र आफैँ फर्किएका वा प्रहरीले विभिन्न जिल्लाबाट पक्राउ गरी बुझाए पनि ठुलो सङ्ख्या अझै फरार रहेको छ। फरार कैदीहरूको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको प्रशासनले जनाएको छ।

आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा फरार कैदीबन्दी र आन्दोलनका क्रममा लुटिएका हतियारलाई राजनीतिक दलहरूले मुख्य सुरक्षा चुनौतीका रूपमा लिएका छन्। अपराधीहरू समाजमै खुल्ला रूपमा रहँदा निर्वाचन भयरहित र शान्तिपूर्ण हुन नसक्ने आशङ्का दलहरूले गरिरहेका छन्।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले फरार कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष रणनीति बनाएर काम भइरहेको बताइन्। "निर्वाचन सुरक्षा योजनाअनुसार भागेका कैदीहरूलाई पक्राउ गर्न विशेष टोली खटिएको छ," उनले भनिन्, "निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी हुन नदिने गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ।" प्रशासनले फरार रहेकाहरूको पहिचान खुलाएर खोजी कार्यलाई तीव्र बनाएको दाबी गरे पनि ठुलो सङ्ख्यामा रहेका कैदी अझै नभेटिनुले सर्वसाधारणमा त्रास कायमै छ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update