Khabar Out
तीन देशको सहभागितामा बाहुनडाँगीमा ‘तरुल उत्सव’

झापा । नेपाल, भारत र भूटानको सहभागितामा चौथो अन्तरराष्ट्रिय तरुल उत्सव सुरु भएको छ । मेचीनगर–४ को बाहुनडाँगी बजारमा बुधबारदेखि उत्सव सुरु भएको हो ।

बुधबार यहाँ कोशी प्रदेश सरकारका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री चिन्तन पाठकले तरुलबाट बनेको केक काटेर उत्सवको उद्घाटन गरे । त्यस अवसरमा उनले कृषि, पर्यटन र ऊर्जा नेपालको समृद्धिको आधार भएको बताउँदै बाहुनडाँगीबासीले बर्सेनि छिमेकी देशको समेत सहभागितामा तरुल उत्सवको आयोजना गरेर रैथाने खानेकुराको प्रवद्र्धन र पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याइरहेको बताए ।

नेपाल, भारत र भूटानका दुई दर्जनभन्दा बढी स्टल रहेको उत्सवमा दार्जिलिङबाट डेजी बराइली, नेपाली गायकहरू टिका भण्डारी र कमलिकान्त भेटुवालले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए ।

आयोजक तरुल उत्सव समितिका संयोजक तथा मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले १९९० सालदेखि बाहुनडाँगीमा हाटबजार लाग्दै आएको चर्चा गर्दै जङ्गली हात्तीको त्राससँग बाहुनडाँगीले जुधिरहेको बताए । रैथाने खानेकुरालाई बिर्सिएर आखाद्य र मिसावटयुक्त खानेकुरामा लोभिँदा मानिसको स्वास्थ्यमा गम्भीर आघात पुगिरहेको सन्दर्भमा मानिसले जङ्गली युगमै तरुल खाने बानी बसाएको उनको भनाइ थियो ।

विश्वमा ६०० प्रजातिका तरुल पाइने भए पनि नेपालमा वन तरुल, सिमल तरुल, भ्याकुर, वन तरुल, घर तरुल, सखरखण्ड (सुठुनी), इस्कुस तरुल, पताले तरुललगायत १३ प्रजातिको तरुल खाने प्रचलन रहेको प्राध्यापक हेमराज कार्की बताउँछन् ।

भूटानबाट आएका एग्रिगेटर नेटवर्क अफ छुक्काका अध्यक्ष छिरिङ दोर्जीले तरुल उत्सवमा बिक्रीका लागि भूटानमा उत्पादित अग्र्यानिक थुक्पा, अचार, रातो चामललगायत खाद्य सामग्री स्टलमा राखिएको बताए ।

भारतको सिक्किम, दार्जिलिङ, सिलिगुरी, कोलकातालगायत क्षेत्रबाट रैथाने खानेकुराको स्टल उत्सवमा राखिएका छन् । कार्यक्रममा इलाम नगरपालिका–६ पिपलबोटेका अदीक्षित खत्रीले फलाउनु भएको एक किलो ७०० ग्राम तौलको एउटै इस्कुस उत्सवमा प्रदर्शन गरिएको छ ।

कार्यक्रममा पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख छविलाल खतिवडा, दार्जिलिङका पर्यटन अभियन्ता शिशिर प्रधान, कार्गिल युद्धको सहिद परिवारका सदस्य नेत्र थापा लगायतले मन्तव्य व्यक्त गर्दै उत्सवले तीनवटा मुलुकको पर्यटन अभियानलाई जनस्तरमा जोड्ने पुलको कार्य गरेको बताए ।

चार वर्षअघि बाहुनडाँगीमा ग्रामीण पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरिएको तरुल उत्सवले तेस्रो वर्ष पूरा गरेर चौथो चरणमा प्रवेश गरेको छ । बिहीबार माघे सङ्क्रान्तिसम्म सञ्चालन हुने उत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । रासस

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update