Khabar Out
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका विभिन्न वडाहरू जोड्ने नेसनल हाइवे (एनएच–७७) आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगर प्रमुख रेणु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–९ स्थित गोन्द्राङको जिरो किलोमिटरबाट चक्रपथको उद्घाटन गरे ।

स्थानीय सरकार गठनपछि गौरवको आयोजनाका रूपमा अघि बढाइएको ८८ दशमलव छ किलोमिटर लामो चक्रपथ निर्माणकार्य सात वर्षअघि सुरु गरिएको थियो । विभिन्न चरणमा सम्पन्न हुँदै आएको उक्त सडकको अधिकांश खण्डमा काम सम्पन्न भइसकेको छ । केही स्थानमा कालोपत्र तथा अलाइनमेन्ट मिलाउने काम बाँकी रहे पनि अन्य खण्डमा सडक निर्माण पूरा भएको जनाइएको छ ।

उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले स्थानीय तह आएपछि भरतपुरमा उल्लेखनीय विकासकार्य भएको बताइन् । उनले भनिन्, “महानगरपालिकाको गौरवको प्राथमिकताप्राप्त योजनाका रूपमा हामीले यसलाई अघि बढाएका हौँ, देशकै सबैभन्दा लामो महानगरस्तरीय ‘रिङरोड’ अहिले राष्ट्रिय राजमार्ग (एनएच)का रूपमा विकास भएको छ ।” केन्द्रीय सडकका रूपमा सूचीकृत भएसँगै अब यस सडकलाई केन्द्र सरकारले समेत प्राथमिकतामा राखेर हेर्ने उनले बताइन् । 

कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरको समग्र विकासमा चक्रपथले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 

सङ्घीय, प्रदेश र स्थानीय तहको लगानीमा निर्माण भएको रिङरोडको शिलान्यास २०७५ असार २९ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणगढको पुलचोकमा गरेका थिए । रासस

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update